
दोहा, २८ भदौ– कतारमा रहेका नेपाली र फिलिपिनो खेलाडीबीच भएको मैत्रीपूर्ण खेलमा फिलिपिन्स नेपालबाट ८–० गोल अन्तरले पराजित भएको छ ।
कतारस्थित अल अरबी क्लवको संयोजनमा भएको खेलमा चितवन युवा समूहले समन्वयकारी भूमिका निर्वाह गरेको थियो । नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै कतारको अल अहली क्लवले नेपाली खेलाडीलाई १ हजार डलर रकमसहित कप प्रदान गरेको छ ।
नेपाली खेलाडीहरुको खेल प्रतिको चासो र नेपाली दर्शकहरुको उपस्थितीलाई मध्यनजर गर्दै अल अहली क्लवले आगामी दिनमा समन्वयकारी भूमिका निर्वाह गर्ने संस्था र खेलाडीहरुलाई विभिन्न तवरबाट सहयोग प्रदान गर्ने जानकारी क्लवका म्यानेजर नासरले बताए ।
गत वर्ष झैं यस वर्ष पनि आयोजक क्लबले नेपालका राष्ट्रिय टिमलाई कतारमा आमन्त्रण गरी सद्भाव खेल खेल्न अवसर दिने र दर्शकहरुको मनोरञ्जनार्थ नेपालका कलाकारहरुलाई ल्याउने सम्पूर्ण खर्च क्लवले नै बेहोर्ने जानकारी उनले दिए ।
नेपाल र फिलिपिन्सबीच सम्पन्न सो सद्भाव खेलमा उपस्थित दर्शकहरुलाई लक्की ड्र मार्फत ल्यापटप, माईक्रो ओभन, आईप्याड, साम्सुंग ग्यालेक्सी मोबाइल र नोकिया मोबाइलहरु वितरण गरिएको थियो ।
उक्त खेल समयमा नेपाल तथा फिलिपिन्सका कलाकारहरुले आफ्नो प्रस्तुति पनि देखाएका थिए ।