
काठमाण्डु, २५ भदौ– यो सिजनको एन्फा कप फुटबलको उपाधि झापा–११ ले जितेको छ ।
दशरथ रंगशालामा बुधबार भएको फाइनल भिडन्तमा संकटा क्लबलाई ४–० को विशाल गोल अन्तरले पराजित गर्दै झापाले उपाधि उचालेको हो ।
जितसँगै झापाले १० लाख रुपैयाँ हात पारेको छ । झापासँग पराजित उपविजेता संकटाले ५ लाखमा चित्त बुझायो । अधिकांश मच्छिन्द्रका खेलाडीको बाहुल्यता रहेको झापा खेल अवधिभर संकटामाथि हाबी थियो ।
झापाले खेलको ४३ औं मिनेटमा नागेन्द्र लिम्बुको गोलबाट अग्रता लिएको थियो । ७६ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै झापाका लागि कर्ण लिम्बुले गोल गरे ।
खेलको ८६ औं मिनेटमा विशाल राईले उत्कृष्ट गोल गर्दै खेललाई ३–० मा पुर्याए । त्यसको लगत्तै बुद्ध चेम्जाङले गोल गरेपछि झापा–११ एन्फा कपको उपाधि जित्न सफल भयो ।
दोस्रो हाफको ५३ औं मिनेटमा डिफेण्डर सुरज थिङ रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि संकटा १० खेलाडीमा सीमित थियो ।