
काठमाण्डु, २४ भदौ- एएफसी यू-१६ च्याम्पियन्ससिपमा नेपालले कुवेतलाई हराएको छ ।
बैंककको मुनाङथोङ रंगशालामा मंगलबार भएको खेलमा नेपालले कुबेतलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै नेपालको नकआउट चरण नेपालको प्रवेशको सम्भावना बलियो भएको छ ।
खेलको ८१ औं मिनटमा पाएको पेनाल्टी सुटमा कप्तान विमल घर्तीमगरले गोल गर्दै टिमलाई विजयी बनाएका हुन् । त्यसअघि नेपालले एक गोल उपहार पाएको थियो ।
खेलेको दोस्रो मिनेटमा किरन सुनारको पासमा अन्जन विष्टले गरेको प्रहार कुवेती गोलरक्षकबाट आत्मघाती गोलमा परिणत भएको थियो । खेलेको ७५ औं मिनेटमा पेनाल्टीमार्फत कुबेतले बराबरी गोल फर्काएको थियो ।
नेपालले यसअघि पहिलो खेलमा आइतबार डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तानलाई बराबरीमा रोकेको थियो । प्रतियोगितामा दुई खेलबाट नेपालले ४ अंक जोडेको छ । नेपालले अब उत्तर कोरियाको सामना गर्नेछ ।