
काठमाण्डु, ४ भदौ– एसीसी यु–१६ प्रिमियर क्रिकेट २०१४ को उपाधि नेपालले जितेको छ ।
लिग चरणको अन्तिम तथा निर्णायक खेलमा घरेलु टोली मलेसियालाई ३२ रनले पराजित गर्दै नेपालले उपाधि आफ्नो नाममा लेखाएको हो ।
यससँगै नेपालले अघिल्लो सिजनको एसिसि यु–१६ एलिट कपमा ब्यहोरेको हारको बदला पनि लिएको छ ।
नेपालले प्रस्तुत गरेको १ सय ६२ रनको लक्ष्य पछ्याएको मलेसिया १ सय २९ रन जोड्दा अलआउट भयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो ।
नेपालको पारीमा पवन सर्राफले सर्वाधिक ४४ र रवि चन्दले ३४ रनको योगदान गरे । पवन म्यान अफ दि म्याचसमेत घोषित भए । मलेसियाका लागि इस्लाहले ३२ रन खर्चिएर ४ विकेट लिए ।
यसअघि नेपाली युवाटोलीले पहिलो खेलमा थाइल्याभन्डालाई १० विकेट, दोस्रो खेलमा सिंगापुरलाई ४९ रन र तेस्रो खेलमा ओमानलाई १ सय २ रनले पाराजित गरेको थियो भने सोमबार भएको चौथो खेलमा बहराइनलाई ४७ रनमै समेटेको थियो ।
एसीसी यू १६ स्तरमा नेपाल र मलेसियाबीच हालसम्म तीनपटक भिडन्त भएको छ । सन् २०१० मा आयोजना भएको एसीसी यू १६ एलिट कपमा नेपाल सेमिफाइनलमा मलेसियालाई ३२ रनले हराएर फाइनलमा पुगेको थियो । सन् २०१२ मा मलेसियामै आयोजना भएको एसीसी यू १६ एलिट कपमा यी दुई टोलीले दुईपटक भिडन्त गरे ।
नेपालले समूहगत चरणमा मलेसियालाई एक विकेटले हराएको थियो । फाइनलमा मलेसियाले नेपाललाई एक विकेटले हराएर उपाधि जित्यो ।