विशेष नगरपरिषद् सम्पन्न

काठमाण्डु टुडे २०७१ साउन १२ गते ७:२६ मा प्रकाशित

जुम्ला, १२ साउन – नवस्थापित चन्दननाथ नगरपालिकाले प्रथमपटक विशेष नगरपरिषद् जिल्लामा सम्पन्न गरेको छ ।

विकास अभियानमा सक्रिय जनसहभागिता, सुन्दर समृद्ध र ऐतिहासिक चन्दननाथ नगरपालिका नारासहित उद्घाटित परिषद्मा नगरप्रमुख तथा कार्यकारी अधिकृत भक्तबहादुर मल्लले उक्त नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।

प्रस्तुत नीति तथा कार्यक्रमका लागि पुँजीगततर्फ तीन करोड ६२ लाख ९० हजार र चालुतर्फ रु ६६ लाख ५५ हजार गरी रु चार करोड २९ लाख बजेट प्रस्ताव गरिएको छ ।

परिषद्ले आर्थिक वर्ष २०७१–०७२ मा पहिलो प्राथमिकता विद्युत्लाई दिँदै त्यसलाई विद्युतीकरण वर्षका रुपमा मनाउने उद्देश्य राखेको छ ।

उक्त परिषद्ले नगरपालिकाका लागि सही व्यवस्थापन गर्न तथा स्वच्छ सफा नगरपालिकाका रुपमा स्थापित गर्न चाहिने आवश्यक वारुणयन्त्र, स्काभेटर, ट्र्याक्टर एम्बुलेन्सलगायतका भौतिक साधनको खरिद गर्नुका साथै शिक्षा स्वास्थ्य खानेपानी, सडकलगायतका प्रवद्र्धनका कार्यहरुलाई पनि अगाडि बढाउने नीति तय गरेको छ । तथापि नगरपालिकाको आफ्नो बजेटले सञ्चालन गर्न नसक्ने ठूला योजनाका लागि केन्द्रस्तरमा सिफारिस गर्ने निर्णय गरेको छ ।

हिमाली नमुना सहरका रुपमा विकास गराउने दूरगामी लक्ष्य राखेको उक्त परिषद्ले कर्णाली क्षेत्रको पर्यटन, विद्युत्, जडीबुटी र ऐतिहासिक सम्पदाको प्रवद्र्धनको विषयलाई संस्थागत गर्दै लैजाने योजना बनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us