राइस ट्रान्सप्लान्टरबाट धान उत्पादनमा वृद्धि

काठमाण्डु टुडे २०७१ साउन ११ गते ११:३२ मा प्रकाशित

ललितपुर , ११ साउन – मानिसले रोप्ने धानभन्दा मेसिनबाट रोपेको धानको उत्पादनमा वृद्धि हुनसक्ने नेपाल कृषि अनुसन्धान परिषद्का निर्देशक डा. डिलबहादुर गुरुङले बताएका छन् ।

मेसिनद्वारा धान रोप्दा एक हेक्टर बराबर ३० देखि ४० जनाको जनशक्ति लाग्ने निर्देशक गुरुङले जानकारी दिए ।

धान रोप्ने राइस ट्रान्सप्लान्टर मेसिनले धान रोप्दा एक हेक्टर जमिनमा करिब पाँच घण्टामा सकिने उनले प्रष्ट्याए । यससँगै उक्त क्षेत्रफलमा मानव जनशक्तिको भन्दा मेसिनबाट लाग्ने खर्च सात गुणा कम भए पुग्दछ ।

मेसिनद्वारा रोपेको धान एकनासले लाइनमा रोपिने भएको हुँदा गोडमेल गर्न पनि सजिलो हुन्छ भने र हातबाट गोड्नुपर्दा आठ गुणा बढी समय लाग्नुका साथै खर्च पनि उत्तिकै लाग्ने गरेको गुरुङको भनाइ छ ।

मेसिनद्वारा रोपिने धान उत्पादनमा गुणात्मक रहेको छ । हाल यस प्रकारका धान रोप्ने मेसिन करिब ३५ वटा रहेको कृषि इन्जिनियरिङ महाशाखाका प्रमुख श्रीत श्रेष्ठले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us