इजरायलको आक्रमणमा गाजामा ४ सयको गयो ज्यान

काठमाण्डु टुडे २०७१ साउन ४ गते १२:५७ मा प्रकाशित

गाजा नगर (प्यालेस्टाइन क्षेत्र), ४ साउन – गाजामा इजरायलले आइतबार गत पाँच वर्षमा सबैभन्दा ठूलो आक्रमण गरेको छ र हाल यस क्षेत्रमा मर्ने व्यक्तिको सङ्ख्या ४०० नाघेको जानकारी प्यालेस्टाइन स्वास्थ्य अधिकारीहरूले दिएका छन् ।

स्वास्थ्य उपमन्त्री युसेफ अबु रिसले गाजा नगरको सिफा अस्पतालमा पत्रकारहरूलाई युद्ध आरम्भ भएपछि ४१० व्यक्तिको मृत्यु भएको र तीन हजार २० भन्दा बढी घाइते भएको बताए । उनले पीडितमध्ये प्राय सर्वसाधारण नागरिक परेको पनि उल्लेख गरे ।

आइतबार सबैभन्दा बढी व्यक्तिको मृत्यु गाजा नगर तथा इजरायली सीमाबीचको सेजाइयामा भएको र त्यहाँ गए राती आरम्भ भएको बम आक्रमणका कारण ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको चिकित्साकर्मीहरूले बताए ।

अन्तर्राष्ट्रिय रेडक्रस समितिको आह्वानपछि दुबै पक्षले यस क्षेत्रमा दुई घण्टाका लागि मानवीय युद्धविरामका सहमति व्यक्त गरेका छन् ।

युद्धविरामको अवधिमा एम्बुलेन्सहरू चिकित्सकसहित सेजाइयामा प्रवेश गरेको र उनीहरूले कम्तीमा तीन शव उठाएको देखिएको एएफपीका समाचारदाताले बताए ।

यसको केही समयपछि सोही क्षेत्रमा हतियार चलेको आवाज सुनिएको थियो ।

हमासले आक्रमण गर्न नछोडेकाले त्यसको प्रतिकार गरिएको इजरायली सेनाले दाबी गरेको छ । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us