
काठमाण्डु, ३ साउन– युक्रेनको सरकारले मलेसियाली विमान दुर्घटनाग्रस्त क्षेत्रमा रुस समर्थित पृथकतावादी विद्रोहीले प्रमाण नष्ट गरिरहेको आरोप लगाएको छ ।
दुर्घटनाको स्वतन्त्र छानविनका लागि गएको विज्ञ सम्मिलित अन्तर्राष्ट्रिय टोलीलाई निर्वाध रुपमा दुर्घटनाग्रस्त क्षेत्रमा जानबाट रोकेर विद्रोहीले प्रमाण नष्ट गरेको सरकारको भनाइ छ । युक्रेन सरकार र विद्रोहीबीच विमान एक अर्काले खसालेको भन्ने आरोप प्रत्यारोप जारी रहेका बेला सरकारको यस्तो भनाइ बाहिर आएको हो ।
एमएच ३७० मलेसियाली विमान नेदरल्यान्ड्सको आम्स्ट्रडमबाट क्वालालम्पुर जाने क्रममा पूर्वी युक्रेनको लुहान्स्क र डोनेससको बीचमा बिहीबार राति खसालिएको थियो । दुर्घटनामा विमानमा रहेका सबै २९८ यात्रुको ज्यान गएको थियो ।
युक्रेन सरकारले अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको टोलीलाई विमानको भग्नावशेष भएको स्थानमा जान नदिएको आरोप लगाएको छ । विद्रोहीको अनुमतिपछि युरोपस्थित सुरक्षा तथा आपसी सहयोग संगठन (ओएससीई) को ३० सदस्यीय टोली अनुसन्धानका लागि शुक्रबार दुर्घटनास्थल पुगेको थियो ।