आज भानु जयन्ती मनाइदै

काठमाण्डु टुडे २०७१ असार २९ गते १:५० मा प्रकाशित

bhanuकाठमाण्डु, २९ असार – नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यको दुईसयौँ जन्मजयन्ती आज नेपाल र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेको अध्यक्षतामा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति गरी मुलुकका विभिन्न भागमा भानुजयन्ती मनाइरहेको छ । समितिले आइतबार नैसमितिको गरिमामय उचाइ अभिवृद्धिका लागि समर्पित भएर सेवा गरेबापत विभिन्न व्यक्तित्वलाई ‘भानुभक्त स्वर्णपदक’ समर्पण गर्दैछ ।

भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न पु¥याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेको छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मनुभएका आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गर्नुभएको थियो । उहाँले ‘प्रश्नोत्तर’ ( १९१०), ‘भक्तमाला’ ( १९१०) ‘वधूशिक्षा’ ( १९१९), ‘रामगीता’(१९२५) तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन् ।

आचार्यले लेख्नुभएका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगत्मा चिनाएका थिए ।

नेपाली समाजमा एकै पल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्यलगायत विषयलाई समन्वय गर्नुभएका आचार्य मूर्धन्य व्यक्तित्व भएको नेपाली केन्द्रीय विभागका सहप्राध्यापक कृष्णप्रसाद आचार्यले बताए ।

आदिकवि आचार्यको द्विशतवार्षिक समारोहका अवसरमा भानु प्रतिष्ठानले ‘भानुभक्तको रामायणको विशेष संस्करण’ प्रकाशन गरेको छ जसको लोकार्पण शुक्रबार भएको थियो । उनका हस्ताक्षरमा आधारित भानुलिपिको विकास गरी ‘भानुभक्तको रामायण’को नेपाली मौलिक संस्कृति झल्कने गरीे विशेष संस्करण प्रकाशन गरिएको हो ।

यसै उपलक्ष्यमा कवि रत्ननिधि रेग्मी शुक्राचार्यले दुई महिना लगाएर ‘भानुभक्तलाई चिठ्ठी ’ खण्डकाव्य तयार गरेका छन् । खण्डकाव्यमा ‘देवकोटाका अनन्य सेवक’ कविले तनहुँ र महाभारतकालीन सन्दर्भ, नेपाली भाषा, सेन वंशको इतिहास, भानुका पुर्खा, तनहुँको सेरोफेरो, देवदेवीस्थल, त्यहाँका साहित्यकारको परिचयका साथ गाउँघरमा अझै सुविधा नपुगेको तथा सहरमा राजनीतिक–आर्थिक–सामाजिक विकृति चरम उत्कर्षमा पुगेको औँल्याएका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us