नेयमार पक्षघातबाट जोगिए

काठमाण्डु टुडे २०७१ असार २७ गते ३:५३ मा प्रकाशित

neymar(1)काठमाण्डु, २७ असार –ब्राजिली स्ट्राइकर नेयमारले विश्वकप फूटबलका क्रममा भएको घटनामा आफू पक्षघात हुने अवस्थाबाट जोगिएको बताएका छन् ।
रियो दि जेनेरियो नजिकको शहर टेरेसोपोलिसमा भएको पत्रकार सम्मेलनमा नेयमारले आफुलाई मेरुदण्डमा थप दुई सेन्टिमिटरमा चोट लागेको भए सधैभरी ह्वीलचेयरमा बस्नुपर्ने भन्दै भगवानले जोगाएको बताएका छन् ।
कोलम्बिया विरुद्धको क्वार्टरफाइनल खेलमा कोलम्बियाका जुआन जुनिगाको घुँडाले लागेपछि नेयमारको मेरुदण्डमा चोट लागेको छ । जुनिगाले आफूले नियतबस नेयमार माथि आक्रमण नगरेको भन्दै माफी मागिसकेका छन् । पत्रकार सम्मेलनमा निकै भावुक बनेका नेयमारले जुनिगालाई आफूले घृणा नगर्ने र कुनै गुनासो पनि नरहेको बताए ।

तर आफ्नो खेल जीवनको निकै नै महत्वपूर्ण क्षणमा भएको त्यो घटनाबारे कुरा गर्न पनि निकै कठिन भएको उनको भनाई छ । आफूलाई घाइते बनाउने उद्देश्यले नआएको भएपनि फुटबल बुझ्ने सबैले त्यो सामान्य घटना थिएन भन्ने कुरा देख्न सक्ने प्रतिक्रिया दिएका छन् ।
नेयमारले विश्वकप फुटबलको फाइनलमा आफूले अर्जेन्टिनाको समर्थन गर्ने बताएका छन् । बार्सिलोनाका आफ्ना सहकर्मी लियोनेल मेस्सी र जाभियर मास्चिरानोका लागि जर्मनीमाथि अर्जेन्टिनाको जित आफूले हेर्न चाहेको उनको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us