
काठमाण्डु, २६ असार – अर्जेन्टिना चौबीस वर्षपछि विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ ।
पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई ४–२ ले हराउँदै अर्जेन्टिनाले फाइनलमा जर्मनीसँगको भेट पक्का गरेको हो ।
उपाधिका लागि अर्जेन्टिना र जर्मनी आईतबार राति भिड्ने छन् । विश्कपमा यी दुई टीमबीच २४ वर्षपछि फाइनलमा भेट हुन लागेको हो । सन् १९९० मा अर्जेन्टिनालाई १–० ले हराउँदै जर्मनीले उपाधि जितेको थियो ।
नेदरल्याण्डलाई हराउनमा अर्जेन्टिनी गोलकिपर सर्जियो रोमेरोले प्रमुख भूमिका खेले । उनले नेदरल्याण्डका रोन भ्लार र वेस्ली स्नाइडरको पेनाल्टी रोके । उनले पहिलो पेनाल्टी प्रहार गर्न आएका भ्लारको प्रहार रोकेर डच टोलीलाई सुरुमै दबाबमा पारे ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि दुवै टीमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । ५४ प्रतिशत बल होल्ड गरेको नेदरल्याण्डले धेरै पटक पाएको मौकाको सदुपयोग गर्न सकेन ।