विश्वकप क्वाटरफाइनल खेल्ने देश कस्ता?

काठमाण्डु टुडे २०७१ असार २० गते ११:३३ मा प्रकाशित

World-Cup-2014

काठमाण्डु, २० असार –  विश्वकप फुटबलको क्वाटर फाइनलमा खेल शुक्रबारदेखि सुरु हुँदै छन् ।

समूह चरणको खेलमा केही अप्रत्याशित नतिजा निस्किए पनि  प्रिक्वाटर फाइनलमा राउण्डमा भने त्यस्तो भएन् ।

प्रिक्वाटरफाइनलबाट अन्तिम ८ पुग्ने सबै यस्ता टिम छन् जुन टिम समूह विजेता बन्दै अन्तिम १६ मा पुगेका थिए ।

समूह एको ब्राजिल, बीको नेदरल्याण्ड्स, सीको कोलम्बिया, डीको कोष्टारिका, समूह ईको फ्रान्स, एफको अर्जेन्टिना, जीको जर्मनी र एचको बिजेता बेल्जियम क्वाटरफाइनलमा पुगेका छन् । उपविजेता बनेको एउटा टोलीले पनि नकआउट चरण पार गर्न सकेन् । क्वाटर फाइनल पुग्ने कोष्टारिका उत्तर अमेरिकी टोली हो भने ब्राजिल, अर्जेन्टिना र कोलम्बियाले दक्षिण अमेरिकाको प्रतिनिधित्व गर्छन् ।

यस्तै बेल्जियम, फ्रान्स, जर्मनी र नेदरल्याण्डस भने युरोपका टोली हुन् । एशियाका चार टीम चरणमै आउट भए भने अफ्रिकाको चुनौती पनि अन्तिम १६ मा पुगेर सकियो । प्रिक्वाटर फाइनलमा पुगेका २ वटा अफ्रिकी टोली नाइजेरिया र अल्जेरिया पराजित भए । यो विश्वकपको क्वाटर फाइनलमा पुग्ने ८ टोली मध्ये ४ टोलीले यसअघि नै विश्वकप जितेका छन् । क्वाटर फाइनलमा पुग्ने टोलीको थप विवरण :

ब्राजिल

क्वाटर फाइनलमा पुगेको विश्वकप आयोजक देश ब्राजिल यसपटकको विश्वकपको मुख्य दावेदार मध्येको एक मानिन्छ । समूह चरणमा क्रोएशिया र क्यामरुनलाई हराउँदै तथा मेक्सिकोसित बराबरी गर्दै अघि बढेको ब्राजिलले प्रिक्वाटर फाइनलमा चिलीलाई हरायो । सन् १९५८, १९६२, १९९४, १९७० र २००२ गरी ५ पटक विश्वकप जितेको ब्राजिलले अहिलेसम्म भएका सवै २० वटा विश्वकप खेलेको छ । ब्राजिलले शुक्रबार राती क्वाटर फाइनलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।

नेदरल्याण्ड्स

विश्वकप फूटबलको ईतिहासमा अभागी टीम भनेर चिनेने नेदरल्याण्ड्सले बलियो हुँदा हुँदा हुँदै पनि अहिललेसम्म विश्वकप जितेको छैन । अघिल्लो विश्वकपमा नेदरल्याण्ड्स फाइनलमा स्पेनसँग एक शून्यले हारेको थियो । तर यस पटक उसले समूह चरणमै स्पेनलाई हरायो । चिली र अष्ट्रेलियालाई पनि हराएको नेदरल्याण्ड्सले प्रिक्वाटर फाइनलमा भने मेक्सिकोलाई हरायो । नेदरल्याण्ड्स जारी विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने टिम पनि हो । भान पर्सी र आर्जेन रोवेन जस्ता क्षमतावान खेलाडी लिएर ब्राजिल पुगेको उसले प्रतियोगिताका ४ खेलमा १२ गोल गरेको छ । नेदरल्याण्ड्स, सेमिफाइनल प्रवेशका लागि कोष्टारिकासँग भिड्ने छ । यसपटक राम्रो खेलिरहेको नेदरल्याण्ड्ससँग उसका समर्थको ठूलो अपेक्षा छ ।

कोलम्बिया

पाँचौ पटक विश्वकप खेलिरहेको कोलम्बिया पहिलो पटक क्वाटर फाइनलमा पुगेको हो । यसअघि सन् १९९० मा प्रिक्वाटर फाइनल अर्थात अन्तिम १६ मा पुगेपनि त्यसअघि समुह चरणबाटै घर फर्किएको इतिहास छ । त्यसैले यसपटक पनि कोलम्विया खेल सुरु हुनुअघि खासै आँखा परेको टोली थिएन । तर ग्रीस, आइभरीकोष्ट र जापान तीनवटै देशलाई हराउँदै अघि बढेको कोलम्वियाले प्रिक्वाटर फाइनलमा २ पटकको विश्व विजेता उरुग्वेलाई हरायो । जारी प्रतियोगितामा सबैभन्दा धेरै ५ गोल गरेर गोल्डेन बुटमा बलियो दावेदारी पेश गरेका जेम्स रोड्रिगेज कोलम्वियाकै स्टाइकर हुन् । कोलम्बियाले अव क्वाटर फाइनलमा भोली राती आयोजक देश, ब्राजिलको सामना गर्ने छ ।

कोष्टारिका

उरुग्वे, ईङ्ल्याण्ड र ईटाली जस्ता यसअघि विश्वकप जितिसकेका तीनवटा देश रहेको समूहबाट अघि बढेको टिम हो कोस्टारिका । प्रतियोगिता सुरु हुनु अघि कोस्टारिकालाई  समूहकै सबैभन्दा कमजोर टीम मानिएको थियो । तर त्यो अनुमानलाई गलत सावित गदै प्रिक्वाटर फाइनलमा पुगेको कोष्टारिका ग्रीसलाई हराउँदै अन्तिम ८ मा पुगेको हो । विश्वकपको इतिहासमा कोष्टारिका क्वाटर फाइनलमा पुगेको पनि यो नै पहिलो पटक हो । चौथो पटक विश्वकप खेलिरहेको कोष्टारिका यसअघि सन् १९९० मा अन्तिम १६ मा पुगेको थियो । दुई पटक भनें समूह चरणबाटै घर फर्किएको थियो । अव उसले क्वाटर फाइनलमा नेदरल्याण्डको सामना गर्ने छ ।

फ्रान्स

क्वाटर फाइनलमा पुगेको अर्को टोली फ्रान्स, सन् १९९८ को विश्वकप विजेता पनि हो ।  समूह चरणमा होन्डुरस र स्वीट्जरल्याण्डलाई हराउँदै तथा इक्वेडरसँग बराबरी खेल्दै नक आउट चरणमा पुगेको फ्रान्सले प्रिक्वाटर फाइनलमा नाइजेरियालाई हराएर अन्तिम ८ मा स्थान बनाएको हो । १४ औं पटक विश्वकप खेलिरहेको फ्रान्स २००६ को विश्वकपको फाइनलमा इटालीसित हारेको थियो । यस पटक सेमिफाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्ने छ ।

अर्जेन्टिना

लियोनेल मेसी, सर्जियो अगुरो, गोन्जालो हिगुईन लगायतका स्ट्राइकर रहेको अर्जेन्टिना विश्वकप उपाधिको मुख्य दावेदार मध्येको एक मानिन्छ । नाइजेरिया, बोस्निया हर्जगोभिना  र इरानजस्ता औसत टिमको समूहमा परेको अर्जेन्टिनाले समूह चरणका तीनवटै खेल जितेपनि आशातित राम्रो भनें खेल्न सकेन । उसले क्वाटर फाइनलमा पुग्ने क्रममा स्वीट्जरल्याण्डलाई अतिरिक्त समयमा १–० ले हरायो । १६ औं पटक विश्वकप खेलिरहेको अर्जेन्टिना विश्वकप प्रतियोगिता जितेको छ । उसले अव क्वाटर फाइनलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्ने छ ।

जर्मनी

१८ औं पटक विश्वकप खेलिरहेको जर्मनी उपाधिको दावेदार मध्येको एक मानिन्छ । सात पटक फाइनल खेलिसकेको जर्मनीले ३ पटक विश्वकप उपाधि जितेको छ भने ४ पटक उपविजेता भएको छ । विश्वकप इतिहासमा सबैभन्दा धेरै १ सय ३ वटा खेल खेल्ने जर्मनी एक मात्र टिम हो । जारी विश्वकपमा समूह चरणमा पोर्चुगल र अमेरिकालाई हराएको जर्मनीले घानासँग भने बराबरी खेलेको थियो । प्रिक्वाटर फाइनलमा अल्जेरियालाई हराएर अन्तिम ८ मा पुगेको जर्मनीले अव सेमिफाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्ने छ ।

बेल्जियम

१२ औं पटक विश्वकप खेलिरहेको बेल्जियम २८ वर्षपछि क्वाटर फाइनलमा पुगेको हो । सन् १९८६ मा सेमिफाइनलसम्म पुग्नु, विश्वकपमा बेल्जियमको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी हो । समूह चरणमा अल्जेरिया, रसिया र दक्षिण कोरियालाई हराएको बेल्जियमले प्रिक्वाटर फाइनलमा भने अमेरिकालाई हरायो । युरोपका शीर्ष क्लवमा खेल्ने खेलाडीले भरिएको बेल्जियमको अहिलेको टिमलाई गोल्डेन जेनेरेशन अर्थात योग्य र आकर्षक पुस्ता मानिन्छ । बेल्जियमले अव सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनाको सामना गर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us