
काठमाण्डु, १८ असार – अमेरिकालाई अतिरिक्त समयमा २–१ ले हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ ।
फुटबलको गोल्डेन जेनेरसन मानिएको बेल्जियम २८ वर्षपछि क्वार्टरफाइनलमा पुगेको हो ।
यो खेलमा तीन वटै गोल अतिरक्त समयमा भएको थियो । निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
अतिरिक्त समयमा केविन डी ब्रुयन र रोमुलु लुकाकुले बेल्जियका लागि गोल गरे । ब्रुयनले ९३ औं र लुकाकुले १ सय ५ औं मिनेटमा गोल गरेका थिए । लुकाकुले गोल गरेको २ मिनेटपछि अमेरिकाका जुलियन ग्रिनले एक गोल फर्काए ।
त्यसपछि पनि अमेरिकाले खेल बराबरी गर्ने मौका पाएपनि उसले गोल गर्न भने सकेन । अमेरिकी गोल किपर टिम होवार्डले बेल्जियमका १५ वटा प्रहारलाई बचाएका थिए । उनकै प्रदर्शनका कारण अमेरिकाले निर्धारित ९० मिनेटमा गोल गर्नबाट बेल्जियमलाई रोकेको थियो ।