
काठमाण्डु, १८ असार – स्वीट्जरल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।
अर्जेन्टिनाले क्वार्टरफाईनल पुग्न स्वीट्जरल्याण्डलाई १–० ले हरायो । र, उसको जितमा एञ्जेल डि मारियाले खेलको अतिरिक्त समयमा निर्णायक र विजयी गोल गरे ।
मंगलवार राती अतिरिक्त समयको खेल सकिन दुई मिनेटअघि कप्तान लियोनेल मेसीको क्रस पासमा डि मारियाले बललाई जाली चुमाए ।
त्यस लगत्तै स्वीट्जरल्याण्डका ब्लेरिम जिमालीको नजिकैबाट गरेको हेडर पोष्टमा लागेर फर्कियो । त्यही रिबाउन्डलाई जिमालीले पुन गोलका लागि प्रयास गरेपनि उनको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो ।
निकै संघर्ष पूर्ण खेलमा अर्जेन्टिनाले गोल गरेपछि मैदानमा उपस्थित झण्डै ४० हजार अर्जेन्टिनी प्रशंसक र खेलाडि खुशीमा रमाए भने स्वीस खेलाडी र समर्थक स्तब्ध भए । गोल गर्न नसकेर दबाबमा परेको अर्जेन्टिनाका लागि गोल गर्ने अवसर कप्तान मेसीले मिलाए ।
मैदानको झण्डै मध्य भागमा विपक्षी खेलाडिलाई छलाउँदै लगेर मेसीले दिएको पासमा डि मारियाले १ सय १८ औं मिनेटमा गोल गरे । त्यस अघि डि मारियाले नौ पटक गोल हुने गरी विपक्षी पोष्टमा प्रहार गरेका थिए । तर स्वीस कीपर डिएगो बेनाजियोले त्यसलाई असफल पारिदिए ।
गोल खाए लगत्तै पाएको मौकामा स्वीस टोलीले गोल गर्न सकेन् । बेलरिम जेमिरीको हेड गरेको बल पहिले पोलमा लागेर फर्कियो भने पछि उनकै खुट्टामा लागेर । गोल गर्न नसकेपछि १९३० यता लगातार चार खेलमा गोल गर्ने पहिलो अर्जेन्टिनी खेलाडी हुनबाट भने मेसी चुके ।
उनले गरेका प्रहार पनि विपक्षी कीपरले असफल पारे । निकै उत्कृष्ट प्रदर्शन गरेका स्वीस गोलकीपर अन्तिम चुके र पेनाल्टी शुटआउटमा पुग्नै लागेको खेल अर्जेन्टिनाको पक्षमा गयो । ६४ प्रतिशत बल होल्ड गरेपनि खेल अवधिभर अर्जेन्टिनालाई स्वीस टोलीलाई दबाबमा राखेको थियो ।