नाइजेरियालाई हराउँदै फ्रान्स क्वाटर फाइनलमा

काठमाण्डु टुडे २०७१ असार १७ गते १:३५ मा प्रकाशित

frrकाठमाण्डु, १७ असार –नाइजेरियालाई २–० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको क्वाटर फाइनलमा पुगेको छ ।
सोमबार राती भएको निक्कै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल अन्तिम ११ मिनेटमा भएका थिए ।
फ्रान्सका लागि पाउल पोग्बाले ७९ औं मिनेटमा हेडमार्फत गोल गरे । यस्तै खेलको इन्जुरी समयमा नाइजेरियाका जोसेब योवोले आत्मघाती गोल गरे र फ्रान्स २–० ले विजयी भयो ।
खेलमा नाइजेरियाले गोलका लागि केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेको थिएन । नाइजेरियाका इमयुल इमेनेकेले ५२ औं मिनेटमा बललाई जाली चुमाएका भएपनि त्यसलाई रेफ्रिले अफसाइड दिएका थिए ।

यस्तै फ्रान्सका केही प्रहारलाई नाइजेरियाका गोल रक्षक इनेयमाले बचाएका थिए । जितपछि फ्रेन्च प्रशिक्षक डिडियर डिस्च्याम्पसले सुरुमा आफूहरुको खेल विग्रिएको भएपनि अन्तिम आधा घन्टामा निक्कै राम्रो खेलेको प्रतिक्रिया दिए । आफूले खेलमा परिवर्तन गर्दै छोटो छोटो पास खेलेको र त्यसको सही नतिजा आएको उनको भनाई थियो ।

नाइजेरियाका प्रशिक्षक स्टेफेन केसीले भने हारको दोष रेफ्रिमाथि थोपरेका छन् । उनले रेफ्रि फेन्च खेलाडप्रति उदार बनेको आरोप लगाउँदै उनले रेफ्रिका धेरै निर्णय गलत भएको बताए । उनले आफ्ना खेलाडी ओजिने ओनाजीलाई फ्रान्सका बेल्स मतौडीले खतरनाक ट्रयाकल गर्दा पनि रेफ्रिले पहेंलो कार्ड मात्र दिएकोमा असन्तुष्टि जनाए ।

ओनाजीले ५९ औं मिनेटमा घाइते भएपछि मैदान छाड्नु परेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us