
काठमाण्डु, १६ असार –ग्रीसलाई टाइब्रेकरमा ५–३ ले हराउँदै कोष्टारिका विश्वकप फुटबलको क्वाटर फाइनलमा पुगेको छ ।
सोमबार बिहान सकिएको खेलमा निर्धारित ९० र त्यसपछि थपिएको ३० मिनेटमा दुवै टिमबाट समान १–१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
ग्रीसका खेलाडी थियोफानी जेकासको प्रहार कोष्टारिकाका गोलकिपर कीलोर नभसले बचाएका थिए । कोष्टारिकाका पाँचै जना खेलाडीले पेनाल्टी सुटआउटमा गोल गरे ।
यसअघि खेलको ५२ औं मिनेटमा ब्रायन रुइजले गोल गर्दै कोष्टारिकालाई अग्रता दिलाएका थिए । तर खेलको इन्जुरी समयमा ग्रिसका सोक्राटिस पापासथोपुलसले बराबरी गोल फर्काएर खेललाई अतिरिक्त समयसम्म लम्ब्याएका थिए ।
६५ औं मिनेटमा ओस्कार डुवोर्ट दोश्रो पहेंलो कार्ड पाउँदै बाहिरिएपछि कोष्टारिका १० खेलाडीमा सिमित भएको थियो । क्वाटरफाइनलमा कोष्टारिकाले अब शनिबार राती नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्ने छ ।