नेदरल्याण्ड क्वाटर फाइनलमा

काठमाण्डु टुडे २०७१ असार १६ गते १:४० मा प्रकाशित

nedकाठमाण्डु, १६ असार –मेक्सिको विरुद्धको खेलमा ८८ मिनेटपछि २ गोल फर्काउँदै नेदरल्याण्ड्स विश्वकप फुटबलको क्वाटर फाइनलमा पुगेको छ ।
नेदरल्याण्ड्सलाई अन्तिम ८ मा पुर्‍याउन वेस्ली स्नाइज्डर र क्लास जान हुन्टेलरले गोल गरे ।
खेलको ८८ औ मिनेटसम्म १–० ले पछि परेको अवस्था उल्टाउँदै डच टोलीले त्यसपछि लगातार २ गोल फर्काउदै खेल आफ्नो पक्षमा पारेको हो ।
८८ औं मिनेटमा स्नाइज्डरले गोल गर्दै बराबरीमा पुर्याएको खेलमा इन्जुरी समयको पनि अन्तिमतिर प्राप्त पेनाल्टीमा हुन्टेलरले गोल गरे । बल अघि बढाइरहेका आर्जेन रोबेनलाई डी बक्समा मेक्सिकोका खेलाडीले लडाएपछि डच टोलीले इन्जुरी समयको अन्तिम मिनेटमा पेनाल्टी पाएको थियो ।

जसले खेलको नतिजा नै उल्टाइदियो । यसअघि पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफको तेश्रो मिनेटमै जिओभानी डस सान्तोसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए । ४० मिनेटसम्म जोगाएको अग्रता अन्तिम समयमा जोगाउन नसक्दा मेक्सिकोले उपाधि यात्रालाई विश्राम दिनुपर्‍यो ।

नतिजासंगै १९८६ पछि विश्वकप फुटवलको क्वाटरफाइनल पुग्ने मेक्सिकोको सपनामा पनि पुर्णबिराम लाग्यो । उत्कृष्ट प्रदर्शनका बाबजुत अन्तिम समयमा सम्हालिन नसक्दा मेक्सिको मुखैमा आएको जितबाट विमुख हुनुपर्यो । मेक्सिकोले विश्वकप फुटवलका नकआउट चरणमा हारेको यो सातौं पल्ट हो । मेक्सिकोका गोलकिपर ओचाओले नेदरल्याण्डका केही खतरनाक प्रहारको बचाउ गरेका थिए तर पेनाल्टी प्रहारको भने अन्दाजै गर्न सकेनन् ।

नेदरल्याण्ड्सका रोबिन भानपर्सि, आर्जेन रोबेन, वेस्ले स्नाइज्डर जस्ता स्टार खेलाडी रहेपनि मेक्सिकोको बलियो रक्षापक्ति र गोलकिपर ओचाओले उनीहरुलाई खुलेर खेल्नै दिएनन् । ७६ औ मिनेटमा कप्तान भानपर्सिको ठाउँमा मैदान छिराउने प्रशिक्षक भानगालको निर्णय सही सावित गर्दै हुन्टेलरले पेनाल्टीमा गोल गर्नुका साथै अर्को गोलका लागि पनि मौका मिलाइदिएका थिए । भानपर्सिको प्रर्दशन भने निराशाजनक थियो ।

मैदानको तापक्रम ३८ दशमलव ८ डिग्रि सेल्सियस पुगेपछि २ पटक खेलमा ती–तीन मिनेट विश्राम दिइएको थियो । क्वाटरफाइनलमा नेदरल्याण्ड्स र कोष्टारिकाले अब शनिबार राती प्रतिस्पर्धा गर्ने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us