फ्रान्स र स्वीट्जरल्याण्ड तथा अर्जेन्टिना र नाइजेरिया प्रि क्वाटरफाइनलमा

काठमाण्डु टुडे २०७१ असार १२ गते २:५६ मा प्रकाशित

काठमाण्डु, १२ असार– विश्वकप फुटबल अन्तर्गत समूह इ बाट फ्रान्स तथा स्वीट्जरल्याण्ड र समूह एफबाट अर्जेन्टिना र नाइजेरिया प्रि क्वाटरफाइनलमा प्रबेश गरेका हुन् । गएराति भएको खेलमा समूह इ अन्र्तगत फ्रान्स र इक्वेडर गोल रहित बराबरीमा रोकिएका थिए । लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको फ्रान्सले बराबरी खेलेसँगै ७ अंकका साथ विजेता बनेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै पक्षबाट पोष्ट चार्ज भएपनि गोल हुन सकेन् । अर्को खेलमा स्वीट्जरल्याण्डले होन्डुरसलाई तीन सुन्य गोल अन्तरले पराजित गर्दै उप विजेताको रुपमा अन्तिम १६ मा स्थान सुरक्षीत गर्न सफल भयो । स्वीट्जरल्याण्डकालागि क्षेदन साकीरीले ह्याट्रिक गरेका थिए ।
उनले ६, ३१ र ७१ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् । जारी प्रतियोगिता साकीरी ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका छन् ।
समूह एफ अन्र्तगत अर्जेन्टिना र नाइजेरिया अन्तिम १६ मा प्रबेश गरेका छन् । अर्जेन्टिनासँगको अन्तिम खेल गुमाएपनि नाइजेरिया भाग्यमानि भयो । अर्को खेलमा इरानले बोष्नियालाई पराजित गरेपछि नाईजेरियाले अन्तिम १६ को टिकट काटेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले नाइजेरियालाई २ का विरुद्ध तीन गोलले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा मेसी २ तथा रोजोले एक गोल गर्दा नाईजेरियाका मुसाले २ गोल फर्काएका थिए । खेल सुरु भएको २ मिनेटमै अर्जेन्टिनाको लियोनल मेसीले पहिलो गोल गरेका थिए । तर त्यसको दुई मिनेटपछिनै नाइजेरियाका अहमद मुसाले पनि बराबरी गोल गरे । एक एक गोलको बरारी भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफको अतिरिक्त समयमा दुई एकले अघि बढाएको थियो । दोस्रो गोलपनि मेसिलेनै गरेका थिए ।

messi
दोस्रो हाफ सुरु भएको २ मिनेटमा नाइजेरिका मुसालेनै बराबरी गोल गरे । तर त्यसको २ मिनेट पछि मार्कोस रोजेले अर्जेन्टिनाकालागि तेस्रो तथा निर्णायक गोल गरे ।
अर्को खेलमा बोष्नियाले इरानलाई तीन सून्य गोलले पराजित गरेको थियो । वोष्नियाकालागि २३ औ मिनेटमा इडेन डेजिको, ५९ औ मिनेटमा मिरलेम पिजानिक र ८३ औ मिनेटमा एभडिजा भर्साजेभिकले एक एक गोल गरेका थिए । इरानका ८१ औ मिनेटमा रेजा घोचानिजेडले सान्त्वना गोल गरेका थिए ।

यसैबीच, समूह चरणका अन्तिम खेल आज हुदैछन् । अहिले सम्म प्रि क्वाटरफाइनलमा पुग्ने १६ मध्य १२ टिमको टुंगो लागि सकेको छ भने आज बाँकी चार टिमको पनि टुंगो लाग्ने छ ।

राती पौने १० बजे हुने खेलमा जर्मनी र अमेरिका तथा पोर्चुगल र घाना भिड्ने छन् । आजको खेलमा जर्मनी र अमेरिकाले बराबरी खेले दुबै टिम प्रि क्वाटरफाइनलमा पुग्ने छन् भने पराजित हुने टिमलाई पोर्चुगल र घानाविचको नतिजाले प्रभाव पार्ने छ । प्रि क्वाटरफाइनल प्रबेशकालागि पोर्चुगलको अंकगणितिय समिकरण मात्रै बचेको छ ।
राती पौने २ बजे पछि हुने खेलमा अल्जेरिया र रसिया तथा बेल्जीयम र दक्षिण कोरिया भिड्ने छन् । यस समूहबाट बेल्जीयमले प्रि क्वाटरफाइनलमा प्रबेश गरिसकेको छ भने अर्को टिमको टुंगो आजको खेलले मात्रै लाग्ने छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us