निरंकुशताका पक्षपातीबाट सरकारी विधेयकको विरोध: गौतम

काठमाण्डु टुडे २०७१ असार ११ गते ६:४३ मा प्रकाशित

विराटनगर, ११ असार– कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले सरकारले संसदमा प्रस्तुत गरेको अदालतको अपहेलनासम्बन्धी bamdevविधेयकको विरोध गर्नुको औचित्य नरहेको बताएका छन् ।

विधेयकको चौतर्फी विरोध भइरहेका बेला उनले निरंकुशताका पक्षपातीहरुले विधेयकको विरोध गरिरहेको आरोप लगाए । विराटनगरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले सार्वभौम संसदमा पेश भएको विधेयकको विरोध गर्नु निरंकुशताको उपज भएको बताए ।

संसदबाट विधेयक पारित भए जलाउँछु र त्याच्छु भन्नु निरंकुश शैलीको पराकाष्ठा भएको उनको भनाइ थियो ।

‘विधेयकको विरोध गर्नेहरुले विधेयक पारित भए आन्दोलन गर्छु र च्यात्छु भनेका छन्, यसले संसदको अपमान र मानहानी भएको छ’, गौतमले भने, ‘सार्वभौम संसदमा प्रस्तुत विधेयकको विरोध गर्नु निरंकुश शैली हो ।’

उनले विधेयकको विरोध गर्नेहरुले सार्वभौम संसदको क्षेत्राधिकारमा हस्तक्षेप र मानहानी गरेको टिप्पणी गरे । गौतमले अराजकता नियन्त्रण र सबैलाई कानुनको परिधिभित्र ल्याउन ल्याइएको विधेयकको विरोध नगर्न पनि चेतावनी दिए । उनले विधेयक जस्ताको तस्तै पारित भए पनि केही फरक नपर्ने जिकिर गरे ।

शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल पापडलगायतका संघसंस्थाले विधेयकमा विचार र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधान समेटिएको भन्दै फिर्ता लिन दबाब दिँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us