
काठमाण्डु, ९ असार– विश्वकप प्रतियोगिता अन्तर्गत सोमबार बिहान भएको समूह जीको खेलमा अमेरिकाले पोर्चुगललाई बराबरीमा रोकेको छ ।
पोर्चुगल र अमेरिकाले २–२ को बराबरी खेलेका हुन् । निकै प्रतिश्पर्धात्मक खेलको पाचौं मिनेटमा पोर्चुगलका लागि नानीले गोल गरे । दोश्रो हाफको ६४ औं मिनेटमा अमेरिकाका जर्मेन जोन्सले बराबरी गोल फर्काए ।
अमेरिकी कप्तान क्लिन्ट डेम्प्सीले ८१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । इन्जुरी समयमा पोर्चुगलले थप एक गोल गरेपछि खेल बराबरीमा रोकियो । खेलको अन्तिम एक मिनेटमा सिल्भेस्ट्रे भरेलाले हेडमार्फत गोल गरेर पोर्चुगललाई टिमलाई एक खेलअघि नै घर फर्कनबाट जोगाए ।
उनले कप्तान क्रिस्टियानो रोनाल्डोको क्रस पासमा सुन्दर हेड गर्दै जाली चुमाए । जितिसकेको खेल अन्तिम मिनेटमा बराबरीमा रोकिएपछि अमेरिका स्तब्ध बन्यो ।
बराबरी खेलेका अमेरिका र पोर्चुगल दुवैको अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ । गएराति भएको अर्को खेलमा रसियालाई १–० लाई हराउँदै बेल्जियमले अन्तिम १६ मा स्थान पक्का गरेको छ । बेल्जियमका लागि खेलको ८८ औं मिनेटमा ओरिजीले गोल गरे ।