विश्वकपमा आज भिड्ने देशहरु

काठमाण्डु टुडे २०७१ असार ८ गते ४:५९ मा प्रकाशित

World-Cup-2014काठमाण्डु, ८ असार – विश्वकप फुटबल अन्तर्गत आज राति समूह ‘जी’ र ‘एच्’का दोस्रो चरणका अन्तिम खेलहरु हुँदैछन् । समूह ‘एच’को खेलमा राति पौने १० बजे बेल्जियमले रुसको सामना गर्दैछ ।

पहिलो खेलमा अल्जेरियालाई २–१ ले पराजित गर्दै बेल्जियमले ठोस सुरुवात गरेको थियो ।
रुसलाई पराजित गर्न सके बेल्जियम एक खेल खेल्न बाँकी छँदै नकआउट चरणमा पुग्नेछ ।

यता दक्षिण कोरियासंग बराबरी खेलेको रुस पनि बेल्जियमलाई पराजित गर्दै अर्को चरण प्रवेशको सम्भावनालाई बलियो पार्न चाहन्छ ।
विश्वकप अन्तर्गत समुह ‘एच’को खेलमा राति पौने १ बजे दक्षिण कोरियाले अल्जेरियाको सामना गर्दैछ । जारी विश्वकपमा अहिलेसम्म कुनै पनि एसियाली सहभागी टिमले विजय हासिल गर्न नसकेको अवस्थामा दक्षिण कोरियाले यो खेलमा विजय हासिल गर्दै शाख जोगाउन भरमग्दूर प्रयास गर्नेछ ।
दक्षिण कोरियाका लागि रुसविरुद्ध गोल गरेका क्यून हो ली को भूमिका महत्वपूर्ण हुनसक्ने आँकलन गरिएको छ । युरोपियन शैलीको खेलमा अभ्यस्त अल्जेरियाले पनि आफूलाई अब्बल देखाउन लागिपर्ने छ । दक्षिण कोरियाले पहिलो खेलमा रुससंग बराबरी खेल्दा अल्जेरिया बेल्जियमसंग पराजित भएको थियो । यो खेल हारे अल्जेरिया प्रतियोगिताबाट बाहिरिने छ ।
विश्वकप अन्तर्गत समुह ‘जी’ को दोस्रो चरणको अन्तिम खेलमा भोली बिहान पौने ४ बजे अमेरिका र पोर्चुगल भिड्दै छन् । यो खेलमा जित हासिल गरे अमेरिकाले प्रिक्वार्टरफाइनलमा ठाउँ पक्का गर्नेछ ।
अमेरिकाले पहिलो खेलमा घानालाई २–१ ले हराएको थियो । यता, पहिलो खेलमा जर्मनीसंग ४–० को फराकिलो हार बेहोरेको पोर्चुगललाई अर्को चरण प्रवेशको सम्भावना जिवितै राख्न अमेरिकामाथि जित्नैपर्ने दबाब छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us