स्वीजरल्याण्डमाथि फ्रान्सको सनसनी जित

काठमाण्डु टुडे २०७१ असार ७ गते १:५६ मा प्रकाशित

stlकाठमाण्डु, ७ असार –फ्रान्सले शनिबार बिहान सकिएको खेलमा स्वीट्जरल्याण्डलाई ५–२ को फराकिलो अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
समूह ईको आफ्नो पहिलो खेलमा फ्रान्सले होन्डुरसलाई ३–० ले हराएको थियो ।
साल्भाडोरको रंगशालामा गोलको बर्षा भएको खेलको ८१ औं मिनेटसम्म फ्रान्सले ५–० को अग्रता लिएको थियो । स्वीट्जरल्याण्डले ८१ औं र ८७ औं मिनेट बाँकी छँदा गोल फर्काउँदै खेलमा फर्किने संकेत गरेपनि त्यति बेला निक्कै ढिलो भइसकेको थियो ।
फ्रान्सका लागि ओलिभर जिराउडले १७ औं मिनेटमा पहिलो गोल गरे भने त्यसको एक मिनेट पनि वित्न नपाउँदै ब्लासे मतौडीले अर्को गोल थपे । ४० औं मिनेटमा म्याथु भाल्भुयना, ६७ औं मिनेटमा करिम बेञ्जिमा र ७३ औं मिनेटमा मोसा सिस्सोकोले एक एक गोल गरे ।

स्वीट्जरल्याण्डका बेरामिन जेमिली र ग्रनिड ज्हाकाले गोल फर्काए । फ्रान्सका करिम बेञ्जिमाले ३२ औं मिनेटमा प्रहार गरेको पेनाल्टी स्वीट्जरल्याण्डका गोल किपर बेनागिलोले बचाएर टिमलाई आधा दर्जन गोल खानबाट जोगाएका थिए । खेलको अन्तिम समयमा बेञ्जिमाले बललाई फेरि स्वीजरल्याण्डको गोलपोष्टमा छिराएका थिए । तर त्यसको केही सेकेण्ड पहिले रेफ्रीले खेल सकिएको फाइनल सिठ्ठी बजाइसकेका थिए ।
यो प्रदर्शनपछि फ्रान्सले यसपटकको विश्वकप फुटवलमा तहल्का मच्चाउने संकेत गरेको छ । उसका ५ जना खेलाडीले गोल गर्दै जुनसुकै खेलाडीपनि गोलका लागि तयार रहेको सन्देश पनि विपक्षी टिमहरुलाई दिएका छन् । फ्रान्सले जारी विश्वकपका २ खेलमा ८ गोल गरिसकेको छ । पराजयपछि स्वीजरल्याण्डका म्यानेजर ओट्मरले स्वीजरल्याण्डको खेलबारे प्रशस्त आलोचना गर्न सकिएपनि आफ्नो टोली इटाली र इंग्ल्याण्डभन्दा धेरै राम्रो भएको दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us