युद्धका कारण विश्वमा पाँच करोड नागरिक विस्थापित

काठमाण्डु टुडे २०७१ असार ६ गते ११:४५ मा प्रकाशित

जेनेभा, ६ असार – आन्दोलन, हिंसात्मक विद्रोह एवम् विभिन्न देशहरुमा व्यप्त बन्दै गएको आन्तरिक द्वन्द्वका कारण विश्वमा पाँच करोड भन्दा बढी नागरिक विस्थापित भएको समाचार छ ।

refugeeसन् २०१४ को मे महिनासम्ममा विश्वका विभिन्न देशहरुबाट ती नागरिक विस्थापित भएका र उनीहरुले शरणार्थीको निकै कठिन जीवन जिउन बाध्य भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चआयुक्तको कार्यालयले सो प्रतिवेदन बिहीबार सार्वजनिक गरेको छ । प्राप्त प्रतिवेदनअनुसार यसवर्षको पहिलो ६ महिनासम्ममा विश्वका पाँच करोड एक लाख नागरिक विस्थापित भएका छन् ।

यो सङ्ख्या युद्ध र विद्रोहका कारण आ आफ्नो घर छोड्नुपर्ने अवस्था भोगेका नागरिकको हो । उनीहरुको अवस्था अहिले पनि घरबारबिहीन नै रहेको पनि बताइएको छ ।

विश्वयुद्धको अन्त्यपछि पनि विश्वमा जारी यस्तो विद्रोह एवम् आन्दोलनका क्रममा यसवर्ष सबैभन्दा धेरै नागरिक विस्थापित हुन पुगेका बताइएको छ ।

गतवर्ष अथवा सन् २०१३ मा भन्दा यसवर्ष कम्तीमा पनि साठीलाख नयाँ शरणार्थी थपिएका पनि समाचारमा जनाइएको छ ।

विश्व शरणार्थी दिवसका अवसरमा बिहीबार सार्वजनिक गरिएको सो प्रतिवदेनमा यसवर्ष धेरै शरणार्थी बढ्नुमा एवम् विस्थापित हुनुमा सिरिया युद्धलाई प्रमुख कारकका रुपमा लिइएको छ ।

सन् २०११ को मार्च महिनाबाट सुरु भएको सिरिया युद्धका कारण त्यहाँबाट कम्तीमा पनि २५ लाख नागरिक विस्थापित भइसकेका छन् भने करिब ६५ लाख नागरिक सिरियाभित्रै विस्थापित भएर बसेका छन् ।
त्यसैगरी सेन्ट्रल अफ्रिका रिपब्लिक र दक्षिणी सुडानका कारण पनि कयौँ नागरिक विस्थापित हुन पुगेका छन् । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us