‘चोरीको बाइक फर्काउन प्रहरीलाई पैसा तिर्नु परेको’ प्रतिक्रिया फेसबुकमा लेख्दा प्रहरी हिरासतमा

काठमाण्डु टुडे २०७१ असार ५ गते ६:४६ मा प्रकाशित

राजविराज, ५ असार – सामाजिक सञ्जाल फेसबुकमा प्रहरीविरुद्ध प्रतिक्रिया लेखेको आरोपमा १९ दिनदेखि सप्तरी प्रहरीको हिरासतमा रहेका सप्तरीका एक युवा व्यापारीलाई प्रहरीले बिहिबार काठमाडौँ ल्याएको छ ।

पत्रकार जितेन्द्रकुमार झाद्वारा नागरिक दैनिकमा प्रकाशित ‘सप्तरीमा सुध्रँदो सुरक्षा’ भन्ने शीर्षकको समाचार पत्रकार झाबाट फेसबुकमा सार्वजनिक हुँदा गत जेठ १७ गते राति उनले “के को सुध्रिनु आफ्नै चोरी भएको बाइक फर्काउन पैसा तिर्नु परिरा’ छ । त्यो पनि ५० हजार” भन्ने प्रतिक्रिया लेखेका थिए ।

प्रहरीले प्रतिक्रिया लेख्ने रहमानलाई राजविराज–३ बाट जेठ १८ गते दिउँसो १ बजे पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयले रहमानविरुद्ध गत जेठ १९ गते विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतमा गत सोमबार पेस गरेको थियो ।

विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दामा कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गर्न पोर्ताहा–१ का मो अब्दुल रहमानलाई काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

रहमानलाई राजविराज–५ रुपनी मोडस्थित अस्थायी ट्राफिक पोस्टबाट बुधबार राति बसमा चढाई काठमाडौँ पठाइएको उनका बुबा इसराइल मियाँले जानकारी दिए ।

विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दा हेर्ने क्षेत्राधिकार काठमाडौँ जिल्ला अदालतको भएको भन्दै सप्तरी जिल्ला अदालतले मङ्गलबार गरेको आदेशअनुरुप उनलाई बुधबार काठमाडौँ पठाइएको प्रहरी निरीक्षक किरण गुरुङले बताए ।

यता रहमानलाई गैरकानुनी तरिकाबाट प्रहरीले १८ दिनदेखि हिरासतमा राखेको भन्दै उनका बुबा इसराइलले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा बुधबार पुनरावेदन अदालतले बन्दी प्रत्यक्षीकरण रिट आदेश गरेको छ ।

पुनरावेदन अदालतका न्यायाधीश राजेश्वर तिवारीले सूचना पाएको मितिले २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयका नाममा बुधबार सूचना जारी गरेको हो ।

अधिवक्ता समिम अख्तर अलीले बन्दीलाई उपस्थित गराउने अदालतको आदेश बुधबार जिल्ला प्रहरी कार्यालयले बुझेर पनि राति काठमाडौँ पठाइनु शक्तिको दुरुपयोग गर्दै अदालतको अपहेलना गर्नु हो भने ।

रहमानले आफ्ना एक छिमेकीले चोरी भएको बाइक फर्काउन पैसा तिर्नुपरेको पीडा सुनाएको आधारमा आफूले त्यस्तो प्रतिक्रिया लेखे पनि कसैको नाम, पेसा अङ्कित नगरेकाले सामान्य ढङ्गले लिन आग्रह गर्दै आएका छन् ।

फेसबुकमा कमेन्ट गरेकै भरमा बूढेसकालको सहारा एक्लो छोरा पनि जेल पर्ने हो कि भन्ने चिन्तामा बुबा इसराइल छन् । रहमान पक्राउ परेदेखि नै उनका परिवारका सबै चिन्तामा छन् । “छोरा पक्राउ परेको खबरसँगै १९ दिनदेखि घरमा रुवावासी चलेको छ”, इसराइलले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us