नेदरल्याण्ड एक खेल अघि नै प्रि – क्वाटर फाइनल प्रवेश

काठमाण्डु टुडे २०७१ असार ५ गते २:०० मा प्रकाशित

duchकाठमाण्डु, ५ असार – साविक उपविजेता नेदरल्याण्ड्स एक खेल अघि नै विश्वकप फुटवलको प्रि –क्वार्टर फाइनल प्रवेश गरेको छ ।
अन्तिम १६ मा पुग्न नेदरल्याण्ड्सले बुधबार राती अष्ट्रेलियामाथि ३–२ को संघर्ष पूर्ण जित निकाल्यो ।
स्पेनलाई ५–१ ले हराएको नेदरल्याण्ड्सले अष्ट्रेलियालाई सहजै हराउने अनुमान गरिएको खेलमा अष्ट्रेलियाले सजिलै त्यसो हुन दिएन ।

६८ औं मिनेटमा काउण्टर एट्याकमा तेश्रो गोल खानुअघि अष्ट्रेलियाले प्राप्त मौका सदुपयोग गर्न सकेको भए नतिजा अर्कै पनि हुनसक्थ्यो ।

नेदरल्याण्ड्सले भने २–१ ले पछि परेको अवस्था उल्टाउँदै लगातार दुई गोल गरेर खेल ३–२ ले जित्यो । आर्जेन रोवेनले २० औं मिनेटमा गोल गरेर अग्रता लिएपनि एक मिनेटमै टीम काहिलले अष्ट्रेलियाका लागि बराबरी गोल गरे ।
५४ औं मिनेटमा पेनाल्टी मार्फत जेडिनाकले अष्ट्रेलियाका लागि दोस्रो गोल गरे । तर डच कप्तान रोविन भान पर्सिले ५८ औं मिनेटमा बराबरी गोल गरे । ६८ औं मिनेटमा अष्ट्रेलियाले नेदरल्याण्डस्को डि बक्सभित्र पाएको गोल गर्ने अवसर खेर फाल्दा काउन्टर अट्याकमा नेदरल्याण्डसका डेपीले विजयी गोल गरे ।

चालु प्रतियोगितामा भान पर्सि र रोवेनको गोल संख्या तीन तीन पुगेको छ ।
जितसंगै अन्तिम १६ मा पुग्ने पहिलो टीम नेदरल्याण्ड्स बन्यो भने हारसँगै अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिने पहिलो टीम बन्यो । लगातार दुई खेलमा पहेंलो कार्ड पाएका कारण डच कप्तान भानपर्सि र कंगारु टोलीका टीम काहिलले समूह चरणको अन्तिम खेल खेल्न पाउने छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us