
काठमाण्डु, ५ असार – लज्जास्पद हार बेहोर्दै साविक विजेता स्पेन विश्वकप फूटबल प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगिताको समूह चरणको दोस्रो खेलमा विहीवार विहान चिलीसँग २–० ले पराजित भएपछि स्पेनको विश्वकप यात्रा समुह चरणमै समाप्त भएको हो ।
पहिलो खेलमा नेदरल्याण्डसँग ५–१ को हार बेहोरेर दबाबमा परेको स्पेनले चिलीसंग पहिलो हाफमै खाएका दुई गोल फर्काउन सकेन र समूह चरणको एक खेल बाँकी छँदै घरफिर्ति पक्का गर्यो ।
सन् १९९८ को विजेता फ्रान्स सन् २००२ मा र सन् २००६ को विजेता इटली २०१० मा समूह चरणबाटै बाहिरिएपनि शुरुकै दुई खेल हारेर बाहिरिने स्पेन पहिलो विश्वविजेता हो ।
जितसँगै चिली भने प्रतियोगिताको प्रि क्वार्टर फाईनलमा प्रवेश गरेको छ । चिलीलाई जिताउन १९ औं मिनेटमा भारगास र ४३ औं मिनेटमा एरांग्विजले गोल गरे ।
दुवै गोलमा एलेक्स साञ्चेजको भूमिका महत्वपूर्ण रह्यो ।
६३ प्रतिशत बल होल्ड गरेको स्पेनले गोलका केही अवसर पाएपनि सदूपयोग गर्न सकेन ।
केही प्रहार चिलीका गोलरक्षकले रोके भने केही प्रहारमा स्पेनी खेलाडीले बललाई दिशा दिन सकेनन् ।
सर्जिओ बुस्क्वेट र डिएगो कोस्टाले गोल गर्ने सहज मौका गुमाएका थिए । स्पेनी प्रशिक्षक डेल बस्कोले दोस्रो हाफमा डिएगो कोस्टा, जावी अलोन्सो र पेड्रोलाई निकालेर फर्नाण्डो टोरेस, कोके र काजोर्लालाई मैदान उतारे पनि कुनै सफलता प्राप्त भएन ।
स्पेन लगातार ६ वर्षदेखि फिफा वरियतामा पहिलो नम्बरमा रहेको टीम हो । स्पेन सन् २००८ र २०१२ को यूरो कप विजेता हो । प्रतियोगिताको पहिलो खेलमै हार बेहारेपछि स्पेनको परम्परागत शैली टीकी टाकाका बारेमा प्रश्न उठाइएको छ र कतिपयले टिकी टाका मरेको टिप्पणी गरेका छन् । लगातार २ खेल हारेर विश्वविजेता स्पेन बाहिरियो