
काठमाण्डु, ४ असार – विश्वकप फुटबलमा एशियाली देश दक्षिण कोरियाले रसियालाई बराबरीमा रोकेको छ ।
बुधबार विहान भएको समूह एचको खेलमा रसियालाई १–१ को बराबरीमा रोकेपछि दुवै टिमले एक एक अंक बाँडेका छन् ।
६८ औं मिनेटमा गोल गरेपनि त्यसको ६ मिनेटमै दक्षिण कोरियाले गोल खान पुग्यो र खेल बराबरीमा सकियो ।
कि क्योन होले मैदानको लगभग मध्यभागबाट एक्लै अघि बढाउँदै प्रहार गरेको बल रसियाका गोलकिपर अकिनफिभको कमजोरीका कारण गोल हुन पुगेको थियो ।
रसियाका लागि केर्जाकोभले ७४ औं मिनेटमा बराबरी गोल फर्काए । दक्षिण कोरिया र रसियाको गोल मात्र होइन बल पोसेसन पनि बराबरी अर्थात ५०–५० थियो । रसिया आफ्ना नियमित कप्तान रोमन सिरोकोभबिनै मैदान उत्रेको थियो । उनी घुँडाको चोटका कारण खेल्न नसक्ने भएका हुन् । खेलपछि रसियाका प्रशिक्षक फावियो कापेलोले खेल निकै रोचक र राम्रो भएको बताए । उनी विश्वकपमा सहभागी सवैभन्दा पाका प्रशिक्षक हुन् ।