एमाले नेताहरु पँधेर्नीका जस्ता कुरा गर्दै हिंडेका छन्

काठमाण्डु टुडे २०७१ असार ३ गते ७:४९ मा प्रकाशित

पुष्प तिमिल्सिना एनआरएन आईसीसी सल्लाहकार समिति सदस्य हुन् । ४८ वर्षीय तिमिल्सिनाको नेपालस्थित ठेगाना राम्जादेउराली–८ पर्वत हो । उनी पछिल्लो १२ वर्षदेखि स्पेनमा व्यवसाय गर्दै आएका छन् ।

pushpa timilsinaस्पेनमा उनको रेष्टुरेण्ट, सुपर मार्केट र चिज कम्पनीमा लगानी छ । अघिल्लो कार्यकाल एनआरएन आईसीसी सदस्य रहेका उनी हाल एनआरएन सल्लाहकार छन् । त्यसका साथै उनी नेकपा एमालेसँग सम्वद्ध रहेर युरोपमा पार्टी राजनीतिमा समेत सक्रिय छन् ।

सबैलाई मिलाएर लैजाने स्वभावका कारण युरोपमा रहेका नेपालीबीच तिमिल्सिनाले समन्वयकारी नेताको छवि बनाएका छन् । उनले राजनीति शास्त्रमा एमए गर्नुअघि उनले बीएल र बीएडसम्म औपचारिक अध्ययन गरेका थिए ।

झण्डै ३० वर्ष पार्टी राजनीतिमा बिताएका उनले एमालेको आसन्न नवौं महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारी गरेका छन् । एनआरएनका गतिविधि र एमाले महाधिवेशनलगायतका विषयमा केन्द्रित रहेर काठमाण्डु टुडेले तिमिल्सिनासँग गरेको कुराकानीको सम्पादित अंश–

नेपालमा हुँदा पनि राजनीति गर्नुहुन्थ्यो ?
मेरो परिवार राजनीतिक परिवार हो । सानैदेखि त्यसको छाप ममा पनि परेको थियो । तर औपचारिक रुपमा भने २०४१ सालमा विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिक यात्रा सुरु भयो । नेपाल ल क्याम्पसमा २०४१ देखि २०४३ सम्म अनेरास्ववियुको प्रारम्भिक कमिटीमा बसेर काम गरें । २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेको हुँ ।

२०५४ देखि ०५५ सम्म एक वर्ष कास्कीमा बुद्धिजिवी फाँटअन्तर्गत एनजिओ सेक्टरमा काम गरें । २० ५८ सालमा युरोपतिर लागियो ।
युरोप पुगेर पनि राजनीतिक नशाले छाडेन ?
युरोप गएपछि नेकपा एमालेका तत्कालीन युुरोप इन्चार्ज भीम रावलले नेपालमा छँदा पार्टी संगठनमा काम गरेका पूराना मान्छेहरु खोज्दै जानुभएछ । त्यस क्रममा उहाँसँग भेट भयो ।

त्यसपछि फेरि पार्टी संगठनमा आवद्ध भइयो । सन् २००८ मा एमाले स्पेनको संस्थापक अध्यक्ष भएर दुई वर्ष काम गरें । २०१० मा भएको अधिवेशनले मलाई पुन: दोश्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्‍यो । २०१२ को जुलाइमा युरोप सम्मेलन आयोजना गरिएको थियो । मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको थिएँ । ३५ जना मतदातामा २४ जना मेरो पक्षमा थिए ।

त्यो थापा पाएर पार्टी अध्यक्ष झलनाथ खनालको ठाडो आदेशमा सम्मेलन स्थगित गरियो । एमालेको इतिहासमा माथिबाट हस्तक्षेप भएर बन्दशत्र चलिरहेका  बेला अधिवेशन नै स्थगित भएको त्यो पहिलोपटक थियो होला ।
युरोपमा एमालेबाहेक अरु पार्टी पनि सक्रिय छन्, त्यहाँका पार्टी संगठनमा पनि नेपाली राजनीतिको प्रभाव छ वा त्यसबाट मुक्त छन् ?
गैरआवासीय नेपाल संघ (एनआरएन) स्पेनको पहिलो अधिवेशन सन् २००९ मा भएको हो । त्यो अधिवेशन गराउने जिम्मेवारी मेरो थियो ।

म निर्वाचन कमिटीको संयोजक थिएँ । काँग्रेस, एमाले र माओवादीसहित अरु तीन वटा जातीय र सामाजिक संघसंस्था अस्तित्वमा थिए । ती सबैलाई मिलाएर मैले निर्विरोध रुपमा कार्यसमिति गठन गराएँ । दोस्रो कार्यकाल (२०११–०१३ ) मा निर्विरोध आईसीसी सदस्यमा निर्वाचित भएँ । २०१३ मा पनि एनआरएन स्पेनलाई निर्विरोध बनाउन भूमिका खेलें ।

२०१३ को अक्टुबरमा काठमाण्डुमा भएको एनआरएन विश्व सम्मेलनमा युरोपभरका एनआरएन हस्तीहरुको आग्रहमा युरोपबाट एक मात्र सचिव पदको उम्मेदवार भएँ । अति राजनीतिकरणको बावजुद सम्माजनक मत ल्याएर पराजित भइयो । सम्मेलनपछि दोश्रोपटक बसेको नयाँ कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा केन्द्रीय सल्लाहकारमा मनोनित गर्‍यो । हामी विभिन्न विचार, आस्था र सिद्धान्तमा विश्वास गर्ने मानिसहरु युरोपमा छौं ।

तर हामी नेपालीहरुका एजेण्डामा एक छौं । तर आवशयक परेको अवस्थामा एमाले, काँग्रेस, माओवादी सबै एकजुट हुने अवस्था छ । दाबीका साथ म के भन्छु भने युरोप र खास गरी स्पेनमा नेपाली समुदायलाई एकताबद्ध बनाएर राख्नमा मेरो महत्वपूर्ण भूमिका छ । सन् २०१४ को युरोप सम्मेलन स्पेनमा भर्खरै मात्र सकिएको छ । त्यो स्पेनमा लगेको पनि मेरै पहलमा हो । यसअघि सम्मेलन कहाँ गर्ने भन्नेमा विवाद हुन्थ्यो, भोटिङ नै हुन्थ्यो । तर यसपटक स्पेनमा गर्ने भनेपछि कसैबाट विवाद आएन ।
एनआरएनमाथि कुरा ठूला गर्ने तर काम नगर्ने आरोप लाग्ने गरेको छ, किन यसो भएको होला ?
एनआरएनमा पनि सबै एकै प्रकारका मानिस छैनन् । कोही काम धेरै गर्छन्, कुरा थोरै गर्छन् । कोही कुरा धेरै गर्छन्, काम कम गर्छन् । हल्ला गरेअनुसार काम नभएको होला, तर केही पनि भएको छैन भन्ने पक्षमा म छैन । जस्तो सामाजिक परोकारको कार्यअन्तर्गत पशुपति र देवघाट सुविधा सम्पन्न धर्मशाला निर्माण भएका छन् । त्यस्तै म्याग्दीको गलेश्वरमा बन्दैछ ।

काठमाण्डुको शंखमुलमा ७० लाखभन्दा बढीको लगानीमा पार्क र घाट निर्माण हुँदैछ । एनआरएन स्पेनको मात्र कुरा गर्ने हो भने पर्वतका १६ वटा विद्यालयका लागि चाहिने कम्प्युटर, फोटोकपी मेशिन र विज्ञान सामग्री उपलब्ध गराइएको छ । नेपालमा बेलाबेलामा हुने दैवीप्रकोणका घटना पीडितलाई आपतकालीन राहतका वस्तुहरु कपडा, खाद्यान्न, औषधि र आवाशका लागि एनआरएनले सहयोग गर्दै आएको छ ।

यस्ता सहयोग देशैभर भएका छन् । परोपकारी कामकै लागि भर्खरै सम्पन्न स्पेन सम्मेलनबाट मात्र १ करोड ३७ लाख रुपैयाँ संकलन भएको छ ।
यी त स–साना कुर भएनन् र ? नेपालमै बस्नेले पनि यस्ता सहयोग त गरेकै छन् नि, ठूला लगानी भित्र्याउँछौं, उद्योग धन्धा खोल्छौं, धेरै नेपालीलाई रोजगारी दिन्छौं भन्ने सपना देखाउनु भएको होइन, खैत पूरा भएका ?
पहिलो कुरा लगानीका लागि मुलुकभित्र लगानीमैत्री वातावरण चाहिन्छ । मुलुक लामो समयदेखि राजनीतिक संक्रमणको अवस्थामा छ । संविधानसभाले नयाँ संविधान जारी नगरेसम्म त्यो अवस्था रहिरहन्छ । तर एनआरएनले नेपालमा लगानी नै गरेको छैन भन्ने कुरा सत्य होइन । विभिन्न हाइड्रो पावरहरुमा एनआरएनको ठूलो लगानी छ । यस्तै उद्योग, होटल, पर्यटन, हाउजिङ, अस्पताल र क्याम्पसहरुमा लगानी छ ।

संगठित रुपमा पर्ने काम मात्र नभएको हो । यसले स्वदेशभित्रै प्रत्यक्ष–अप्रत्यक्ष रुपमा हजारौं नेपालीले रोजगारी पाएका छन् । यद्यपि, अहिले जति भएको छ, त्यसमा सन्तुष्ट हुने अवस्था होइन । एनआरएनले विदेशमा कमाएको पैसा नेपालमा लगानी गर्नैपर्छ । त्यसका लागि नेपालको सरकार, एनआरएन र यहाँको नीजि क्षेत्र सबैको सहकार्य आवश्यक छ ।
एनआरएनमा दलीय राजनीतिको प्रभाव कत्तिको छ ?
एनआरएनमा अधिकांश नेपालबाट गएका सचेत नागरिकहरु छन् । आजको दुनियाँमा कोही पनि मानिस निरपेक्ष रुपमा स्वतन्त्र वा तटस्थ हुन सक्दैन । विदेशमा जहाँ नेपाली छन्., त्यहाँ सबै पार्टीका संगठन खुलिसकेका छन् । आफ्नो रुचीअनुसार सबैले संगठित हुन पाउँछन् पनि । त्यसैले सबैथरि आस्था बोकेका मानिसहरु एनआरएनमा छन् । यस हिसाबले एनआरएन राजनीतिबाट पूर्ण रुपमा अछुतो छ म भन्दिन ।

तर एनआरएन कुनै दल विशेषको फोरम होइन । यो विशेमा रहेका नेपालीहरुलाई संगठित गर्ने, विदेशमा उनीहरुलाई परेका समस्याको सामूहिक रुपमा समाधान खोज्ने र त्यहाँ रहँदा आर्जन गरेको ज्ञान, सिप, क्षमता र पैसा संगठित रुपमा मातृभूमिमा लैजाने भन्ने उद्देश्यका साथ गठन भएको सामाजिक संगठनको हो । यो बाहेक एनआरएनले कुनै दल विशेषको ताबेदारी गर्दैन ।  एनआरएनको ढोका सबै विचार र आस्था बोकेका मानिसका लागि खुला छ । तर संगठनमा जिम्मेवारी लिइसकेपछि तटस्थ भएर काम गर्नुपर्छ भन्ने एनआरएनको मान्यता हो ।
एनआरएनको वर्तमान नेतृत्वको कार्यशैलीबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
एनआरएनमा नेतृत्व परिवर्तनले त्यसका नीति र एजेण्डामा खासै फरक पर्दैन । किन भने निश्चित, उद्देश्य, नीति र कार्यक्रमका आधारमा चल्ने हो । जहाँसम्म वर्तमान नेतृत्वको कुरा छ, सम्मेलनपछिको पहिलो बैठकका निर्णयहरु एकलौटी र आफूसँग असहमतलाई पेलेर जाने खालका थिए । पछिल्लो समय सबैलाई मिलाएर लैजाने कोसिस भएको छ ।
एनआरएनबाहेक एमालेको पार्टी राजनीतिमा चाहिं कत्तिको सक्रिय हुनुहुन्छ ?
एमालेको नवौं महाधिवेशन नजिकै आइसकेको छ । यसपटक युरोपबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछु । व्यक्तिगत रुपमा पद प्रतिष्ठाको लोभ गर्दिन, तर युरोप र नेपालमा रहेका धेरै एमालेजनको आग्रहमा उम्मेदवारी दिन लागेको हुँ । एमाले युरोप र नेपालको बीचमा पुलको रुपमा काम गर्ने मेरो उद्देश्य हो । त्यसबाहेक युरोपमा एमालेको संगठन तीव्र गतिमा विकास र विस्तार गर्ने हो ।

अहिले नेपालमा रहेका केन्द्रीय सदस्यले युुरोप हेर्ने हुँदा उसले संगठनको काममा त्यति समय दिन सकिरहेको छैन । त्यसैले पार्टी काममा सहजता ल्याउन र पार्टी शुद्धीकरण गर्नका लागि युरोपमै रहेको व्यक्तिले नेतृत्व गर्दा प्रभावकारी हुन्छ भन्ने हाम्रो बुझाइ हो ।
एमाले अहिले केपी ओली र माधव नेपालको प्यालनमा विभाजित भएको देखिन्छ, तपाईं कुन प्यालनमा ?
म कुनै गुट उपगुटको होइन, एमाले प्यालनको मान्छे हुँ । मेरो राजनीतिक इतिहास नै सबैलाई मिलाएर जाने किसिमको हो । त्यसैले सर्वसम्मत नेतृत्व मेरो परिकल्पना हो । कम्तीमा पदाधिकारीतहको नेतृत्व सर्वसम्मत हुनुपर्छ । त्यसो भयो भने मात्र पार्टीलाई एकताबद्ध रुपमा लैजान मद्धत पुग्छ र दीर्घकालसम्म फाइदा पुर्‍याउँछ ।
उम्मेदवारी दिने बेलासम्म त कुनै न कुनै प्यालनमा उभिनै पर्ला नि ?
अन्तिममा पुग्दा एउटा प्यालनमा लाग्नुपर्ने अवस्था आए खुल्ने हो । तर अहिल्यै यो वा ऊ प्यालन भनेर हिंडेको छैन । सबैसँग राम्रै सम्बन्ध छ ।
दुवै पक्षले सार्वजनिक रुपमा एक अर्काविरुद्ध कडा टिकाटिप्पणी गरिरहेका छन्, यसबारेमा के भन्नुहुन्छ ?
पार्टीका नेताहरुले एक पक्षले अर्को पक्षलाई तल्लो तहमा झरेर गालीगलौज र आरोप–प्रत्यारोप गर्ने काम भइरहेको छ । यो रोक्नुपर्छ । पार्टीमा वैचारिक आधारमा स्वच्छ लोकतान्त्रिक प्रतिस्पर्धा हुनुपर्छ । यसले मात्र पार्टीलाई फाइदा पुग्छ ।

प्रचार–प्रसार गर्नेले अरुलाई अराजनीतिक गाली नगरी आफ्नै बारेमा प्रचार गर्नुपर्‍यो । स्वच्छ प्रतिस्पर्धा गर्दा जसले कार्यकर्ताको मन जितेर धेरै भोट ल्याउँछ उसैले पार्टी चलाउँछ । जित्नेले पनि जितेको भोलिपल्टदेखि हार्नेलाई सँगै लिएर जानुपर्‍यो । हार्नेले पनि जित्नेलाई पार्टी चलाउन सहयोग गर्नुपर्‍यो । नेताहरुको व्यवहार र आचरण राजनीतिक संस्कारयुक्त हुनुपर्छ । पँर्धेर्नीले पानी पँधेरामा गर्ने तहको कुराकानी गरेर जग हसाउने काम गर्नुभएन ।
विदेश बस्नुहुन्छ, पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ, तपाईंले केन्द्रीय सदस्यमा जित्ने आधार के छ ?
गत ४ मंसिरको संविधानसभा निर्वाचनमा विदेशबाट पनि समानुपातिकमा प्रतिनिधित्व गराउने भनेर नाम मागिएको थियो । स्पेनबाट मेरो नाम सर्वसम्मत रुपमा सिफारिस भएको थियो । संसारबाट एक जना मात्र समानुपातिक सभासद छान्ने अवस्थामा पनि म पर्ने पक्का थियो । तर दुर्भाग्यबस पार्टीले निर्वाचन आयोगमा बुझाएको ३ सय ३५ जनाको बन्द सूचीमै विदेशबाट मागिएका कसैको नाम पारेन ।

विदेशमा रहेका पार्टी सदस्यहरुलाई उपेक्षा गर्ने काम भयो । मलाई के लाग्यो भने पार्टीको केन्द्रीय समितिमा विदेशबाट प्रतिनिधित्व नहुँदा विदेशमा रहेकाहरुको एजेण्डाले पार्टीमा प्रवेशै पाएन । अब विदेशमा रहेका नेपालीका आवाज केन्द्रीय कमिटिमा पुर्‍याउन मेरो जित अवश्यक छ र म जित्छु पनि ।

जहाँसम्म जितका लागि आवश्यक आधारको कुरा छ, म विदेश गएर एमाले भएको होइन । नेपालमै छँदा एमाले थिएँ । ३० वर्षभन्दा बढी समयदेखि लगातार पार्टी काममा सक्रिय छु । स्वदेश र विदेशमा रहेका अधिकांश नेता कार्यकर्तासँग परिचित छु । उहाँहरु सबै पार्टीमा मैले खेलेको भूमिकाका बारेमा जानकार हुनुहुन्छ ।

मैले जित्ने आधार भनेका प्रतिनिधिहरु हुन् । विदेशमा बसेर पनि पार्टीको केन्द्रीय कमिटीमा किन उठ्ने भन्ने सवालमा मेरो भनाइ के छ भने विदेश बस्नेले केन्द्रीय सदस्य उठ्न नपाउने भन्ने विधानमा कतै छैन । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको चुन्ने र चुनिने दुवै अधिकार हुन्छ ।

म पनि महाधिवेशन प्रतिनिधि हुँ । त्यसो भएपछि केन्द्रीय सदस्य लड्ने अधिकार त मेरो सुरक्षित छ नि । पार्टीले कित विदेशमा संगठन बनाउनै भएन, बनाउने हो भने नेतृत्वमा आउन पनि त दिनुपर्‍यो ।

विदेशमा रहेका नेपालीले यहाँका पार्टीहरु सञ्चालनका लागि आर्थिक व्यवस्थापन गर्ने गरेका छन् रे हो ?
यो कुरा साँचो हो । एमाले मात्र होइन सबै पार्टीमा विदेशबाट पैसा आउने गरेको छ । पार्टीहरुका महाधिवशेन, राष्ट्रिय सम्मेलन, निर्वाचन आदिमा विशेष सहयोग र अरु समयमा लेबी र पार्टी सदस्यता शुल्क नियमित रुपमा नेपाल पठाउने गरिएको छ । बास्तवमा भन्ने हो भने नेपालका पार्टीहरु चलाउने आर्थिक आधार भनेकै विदेशमा रहेका नेपाली हुन् ।
अन्त्यमा केही भन्नु छ ?
हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठक अधिकांशत: पूर्वनिर्धारित समयमा हुँदैन । त्यसमा भने तोकिएको दिनमा सकिंदैन ५ दिन बस्ने भनिएको बैठक लम्बिएर १० दिन पुग्छ । त्यसको मार काठमाण्डुबाहिर कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरुलाई पर्ने गरेको छ । कहिले काहीं महिनौं काठमाण्डु बस्नुपर्ने अवस्था आउँछ । काठमाण्डुबाहिरका केन्द्रीय सदस्यहरुलाई त्यसको चर्को आर्थिकभार पर्ने गरेको छ ।

म केन्द्रीय कमिटीमा निर्वाचित भएँ भने पहिलो बैठकमै पार्टी केन्द्रीय कार्यालयको हातामा केन्द्रीय सदस्यहरुका लागि आवाशगृह निर्माणको प्रस्ताव लैजान्छु । र त्यसका लागि पहिलो लगानीकर्ता मै हुनेछु । चार/चार जनाका दरले सुत्न पुग्ने २५ कोठे भवन निर्माण गरियो भने तत्कालका लागि समस्या समाधान हुन्छ । केन्द्रीय सदस्यहरुको आर्थिकभार पनि घट्छ । पार्टीका लागि एउटा आवाशगृह चाहिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us