मानवरहित विमान आक्रमणमा पचासभन्दा बढीको मृत्यु

काठमाण्डु टुडे २०७१ असार १ गते ११:४२ मा प्रकाशित

पाकिस्तान, १ असार – उत्तर–पश्चिम पाकिस्तानको आदिवासी इलाकामा आइतबार बिहान पाकिस्तानी चालकरहित विमान (ड्रोन) आक्रमणमा ५० भन्दा बढी आतङ्ककारीको मृत्यु भएको पाकिस्तानी सैनिकले जनाएका छन् ।

यद्यपि स्थानीय सुरक्षा अघिकारीले यस ड्रोन आक्रमणमा एकसय ५० आतङ्ककारीको मृत्यु भएको जानकारी दिएका छन् ।

यस ड्रोन आक्रमणमा उत्तरी वाजिरिस्तानको दुर्गम पहाडी क्षेत्रमा लुकेर बसेका उज्वेक लडाकुहरूलाई लक्ष्य गरी आक्रमण गरिएको सैनिक स्रोतले जानकारी दिएको छ ।

आजको ड्रोन आक्रमणमा मारिने सबै गत सोमबार कराँची विमानस्थलमा आक्रमण आवद्धमा रहेका आतङ्ककारीहरू रहेका जनाइएको छ ।

गत सोमबार भएको कराँची विमानस्थल आक्रमणमा १० आतङ्ककारीसहित ३८ व्यक्तिको मृत्यु भएको थियो ।

मिरानसाह सहरको उत्तर वजिरिस्तानदेखि २५ किलोमिटर पश्चिममा पर्ने पहाडी इलाका देहगानमा तालिवान र अल कायदासँग आवद्ध आतङ्ककारीको बलियो पकड रहेको छ । यो क्षेत्र अफगानिस्तानको सीमा क्षेत्रमा पर्दछ ।

वजिरिस्तानमा आज भएको ड्रोन उत्तरी आक्रमणमा दहेगान, दत्ताखेलमा लुकेर बसेका आतङ्ककारीलाई लक्ष्य गरी गरिएको जनाइएको हो ।

यस आक्रमणमा मारिने प्रायः उज्वेकी आतङ्ककारी र स्थानीय आतङ्ककारी रहेका पाकिस्तानी सैनिकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यद्यपि मिरानसाहका स्थानीय अधिकारीले नाम नवताउने शर्तमा सरकारी तथ्याङ्क भन्दा सो ड्रोन आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या उच्च भएको जनाएका छन् ।

सो मानवरहित विमान आक्रमणमा १५० व्यक्तिको ज्यान गएको सो अधिकारीले बताएका छन् । तर पाकिस्तानी सैनिकले सो उच्च सङ्ख्याको पुष्टी गरेका छैनन् । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us