विश्वकप फुटवल आजदेखि सुरु, उद्घाटन खेल ब्राजिल र क्रोसियाबीच

काठमाण्डु टुडे २०७१ जेठ २९ गते ३:०२ मा प्रकाशित

worl cupकाठमाण्डु, २९ जेठ –आजदेखि विश्वकप फुटबल महासंग्राम सुरु हुँदै छ । जापानका युइची निसिमुराले आयोजक ब्राजिल र क्रोएसियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २० औं संस्करण साओ पाउलोको एरिना कोरिन्थियन्स रंगशालामा आज राति औपचारिक उद्घाटनसँगै सुरु हुने छ ।

ब्राजिलमा दोस्रोपटक हुन लागेको यो विश्वकपमा पनि विगतमा झैं विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। । ब्राजिलले यसअघि सन् १९५० मा विश्वकप आयोजना गरेको थियो ।

पाँचपटक विश्वकप जितिसकेको ब्राजिलसँगै साबिक विजेता स्पेन, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र जर्मनीलाई उपाधिको प्रमुख दाबेदार मानिएको यस प्रतियोगिताले आगामी चार वर्षका लागि नयाँ विश्व विजेता चयन गर्दै एक महिनापछि रियो दे जेनेरियोस्थित स्टेडियो डो माराकानाबाट बिदा लिने छ ।

रंगशाला लगायतका भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइले विश्वव्यापी आलोचना बेहोरेको ब्राजिलका राष्ट्रपति डिलमा रौसेफले देश विश्वकप आयोजना गर्न पूर्ण तयार भइसकेको घोषणा गरेकी छन्। । केही साताअघिसम्म पनि रंगशाला निर्माण नसकिएको भन्दै फिफाले कामको गति बढाउन आयोजकलाई दबाब दिएको थियो ।

ब्राजिलले विश्वकप आयोजनामा ११ अर्ब अमेरिकी डलर खर्च गरेको थियो ।राष्ट्रपति रौसेफले मंगलबार राति पत्रकारसँग ब्राजिलले सबै चुनौती विश्वकपअघि नै पन्छाइसकेको बताइसकेकी छिन् । विश्वकप हुने १२ मध्ये सात रंगशाला नयाँ हुन्।् भने पाँच रंगशाला मर्मतसम्भार गरेर विश्वकपलाई तयार गरिएको छ ।

प्रतियोगिताभर ३५ लाखभन्दा बढीले रंगशालामै गएर विश्वकपका खेल हेर्ने अनुमान गरिएको छ भने विश्वभर एक अर्बभन्दा बढीले टेलिभिजनबाट दैनिक विश्वकप हेर्ने फिफाको अपेक्षा रहेको छ। विश्वकपका लागि ६ लाख विदेशी पर्यटकले भ्रमण गर्ने र देशले २ करोड ५० लाख डलर आम्दानी गर्ने ब्राजिली पर्यटन प्रशासनले आशा गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us