
काठमाण्डु, २८ जेठ – राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलविरुद्ध मानहानी मुद्धा दायर गरेका छन् ।
सर्वोच्च अदालतको आदेशविपरीत मन्त्री पौडेलले आफूलाई दैनिक कामकाज नगर्न निर्देशनात्मक पत्राचार गरेको भन्दै लामाले मुद्धा हालेका हुन् । काठमाण्डु टुडेसँग कुरा गर्दैै लामाले मन्त्रीले अदालतको मानहानी गरेकाले मुद्धा हालेको बताए ।
‘मलाई अदालतले पुनर्बहाली गरेको हो’, लामाले भने, ‘मन्त्रीले अदालतको मानहानी हुने गरी काम नगर्न लिखित निर्देशन पठाएकाले अदालत जान गएको हुँ ।’
अदालतले दुवै पक्षलाई जेठ २६ मा उपस्थित हुन भनेको र सोही दिन अदालतको अपमान हुने गरी मन्त्रीले आफूलाई सदस्य सचिवका हैसियतका काम नगर्न/नगराउन दिर्नेशनात्मक पत्र पठाएर अदालतको अपहेलना भएको उनले बताए ।
मन्त्री पौडेलले बुधबार पौडेलले सर्वोच्चले दिएको अन्तरिम आदेश अनुसार २६ गतेपछि काम गर्न नमिल्ने भन्दै पत्राचार गरेका थिए । पौडेलले कार्यकाल सकिएपछि पनि पदमै बसेको आरोपमा लामासहित राखेपमा ७ पदाधिकारीलाई गत २ जेठमा मन्त्रीस्तरीय नियर्णबाट बर्खास्त गरेका थिए ।
आफूलाई गैरकानुनीरुपमा हटाइएको भन्दै लामाले दिएको रिटमा सर्वोच्चले अर्को फैसला नहुँदासम्म पदमा बहाल रहन आदेश दिएको थियो ।