११ वित्तिय संस्था गाभिएर तीनवटा बन्ने

काठमाण्डु टुडे २०७१ जेठ २८ गते ११:२८ मा प्रकाशित

काठमाण्डु, २८ जेठ – आउँदो एक महिनाभित्र ११ वटा संस्था गाभिएर तीन वटामा झर्ने भएका छन्। नेपाल राष्ट्र बैंकले ११ संस्थालाई आपसमा गाभिन अन्तिम स्वीकृति दिन लागेको छ। अन्तिम स्वीकृतिपछि अहिलेसम्म मर्ज हुने संस्थाहरुको संख्या ७० नाघ्ने छ।

यसै साता लुम्बिनी बैंक लिमिटेड र नवदुर्गा फाइनान्स लिमिटेडले गाभिनका लागि अन्तिम स्वीकृति पाउने भएका छन्। असार पहिलो साता  प्रभु विकास बैंकसँग गाभिन किष्ट बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्सले अन्तिम स्वीकृति पाउँदैछन्।

साथै पाँच ग्रामिण विकास बैंकहरुले पनि असार पहिलो साता नै गाभिन अन्तिम स्वीकृति पाउने भएका छन्। अन्तिम स्वीकृति पाएको केही दिनभित्रै यि संस्थाहरु औपचारिक रुपमा गाभिएर एकिकृत कारोबार गर्न थाल्ने छन्।

‘आउँदो सञ्चालक समिति बैठकमै लुम्बिनी बैंक र नवदुर्गा फाइनान्सलाई अन्तिम स्वीकृति दिने एजेन्डा लैजाँदैछौं,’ राष्ट्र बैंक स्रोतले भन्यो,’असार लागेपछि बाँकी संस्थाले पनि अन्तिम स्वीकृति पाउने छन्।’

लुम्बिनी–नवदुर्गा
आपसमा गाभिनका लागि दुवै संस्थाले गत ९ गते विशेष साधारणसभाबाट प्रस्ताव अनुमोदन गराइ सकेका छन्। लुम्बिनीसँग नवदुर्गा प्रति सेयर ८० रुपैयाँका दरले मर्ज हुने छ।

चैतसम्मको वित्तीय विवरण अनुसार लुम्बिनी बैंकको चुक्ता पुँजी एक अर्ब ७२ करोड ९७ लाख रुपैयाँ छ। बैंकको जगेडा कोषमा ५९ करोड रुपैयाँ छ। बैंकसँग सर्बसाधारणको १३ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी छ भने कर्जा लगानी १२ अर्ब रुपैयाँ गरेको छ। बैंकको पुँजी कोष अनुपात १७.५८ प्रतिशत रहेको छ। बैंकले चैतसम्म १४ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ।

नवदुर्गा फाइनान्सको चुक्ता पुँजी १९ करोड ७२ लाख रुपैयाँ छ भने जगेडा कोषमा तीन करोड १२ लाख रुपैयाँ छ। कम्पनीसँग सर्वसाधारणको एक अर्ब ३३ करोड निक्षेप र कर्जा लगानी ८४ करोड ४९ लाख रुपैयाँ रहेको छ। कम्पनीले चैतसम्म ४२ लाख रुपैयाँ नाफा गरेको छ।

प्रभु–किस्ट–गौरिशंकर–जेनिथ
चार कम्पनी आपसमा गाभिएपछि नयाँ संस्थाको नाम प्रभु बैंक हुने छ। प्रभु विकास बैंकको चैतसम्म ७६ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ। कम्पनीको जगेडा कोषमा ३० करोड रुपैयाँ छ।

प्रभुसँग सर्वसाधारणको १० अर्ब ४८ करोड रुपैयाँ निक्षेप छ। बैंकले सात अर्ब २७ करोड कर्जा लगानी गरेको छ। बैंकले चैतसम्म सात करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको पुँजी कोष अनुपात ११.२७ प्रतिशत छ।

किस्ट बैंकको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ छ। बैंकको जगेडा कोष ७७ करोड रुपैयाँले ऋणात्मक छ। बैंकसँग सर्वसाधारणको १९ अर्ब ६७ करोड निक्षेप र १४ अर्ब ५१ करोड कर्जा लगानी रहेको छ।
जेनिथ फाइनान्स २३ करोड चुक्ता पुँजी भएको कम्पनी हो। कम्पनीको जगेडा कोषमा चार करोड ३५ लाख रुपैयाँ छ। फाइनान्ससँग सर्वसाधारणको एक अर्ब सात करोड निक्षेप र ९० करोड कर्जा लगानी छ।

गौरिशंकर डेभलपमेन्ट बैंकको चुक्ता पुँजी २१ करोड रुपैयाँ छ। बैंकको जगेडा कोषमा १० करोड ६५ लाख रुपैयाँ छ। बैंकले सर्वसाधारणसँग एक अर्ब ३८ करोड निक्षेप उठाएर एक अर्ब नौं करोड कर्जा लगानी गरेको छ।

पाँच ग्रामिण विकास बैंक
पश्चिमाञ्चल ग्रामिण विकास बैंकसँग अन्य चार वटा बैंक गाभिएर राष्ट्रियस्तरको ग्रामिण विकास बैंक बन्ने गरी मर्जर हुन लागेको हो। मर्जरका लागि सरकारले ३५ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ। आपसमा गाभिनका लागि पाँचै वटा ग्रामिण विकास बैंकले सम्पूर्ण सम्पति तथा लायित्वको मूल्यांकन (डिडिए) गराइसकेका छन्।

गत असोजमा पुर्वाञ्चल, मध्यमाञ्चल, मध्य पश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल ग्रामीण विकास बैंकले आपसमा गाभिन औपचारिक सम्झौता गरेका थिए। डिडिए प्रतिवेदन अनुसार, सुदूर पश्चिामञ्चलको प्रति कित्ता सेयर मूल्य १ रुपैयाँ २ पैसा, पूर्वाञ्चल ग्रामिण विकास बैंकको १ रुपैयाँ ४० पैसा निर्धारण भएको छ।

यसैगरी पश्चिमाञ्चलको एक सेयर बराबर १ सय ४० रुपैयाँ मूल्यांकन भएको छ भने मध्य पश्चिमाञ्चल ग्रामिण विकास बैंकको प्रति सेयर ७७ रुपैयाँ ७८ पैसा र मध्यमाञ्चल ग्रामिण विकास बैंकको ४६ रुपैयाँ मूल्यांकन भएको छ। 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us