महोत्तरीका सभासद्ले योजना पेस गर्न सकेनन्

काठमाण्डु टुडे २०७१ जेठ २५ गते ४:३३ मा प्रकाशित

महोत्तरी, २५ जेठ – आर्थिक मसान्त आउन लाग्दासमेत महोत्तरीका सभासद्हरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना पेस गर्न सकेका छैनन् ।

सरकारले महिला, बालबालिका, दलित, अपाङ्ग, मधेसी, मुस्लिम, पिछडा समुदाय तथा विपन्नवर्गको उत्थान र विकास गर्न भन्दै हरेक सभासद्लाई वार्षिक रुपमा १० लाख रुपैयाँ दिने गरेको छ । यस आर्थिक वर्षका लागि महोत्तरीका १५ जना सभासद्को रकम आउने जिविस महोत्तरीले जनाएको छ ।

सभासद्हरुले जेठ १५ गतेभित्र योजना पेस गरिसक्नुपर्ने र त्यो रकम असार २५ गतेभित्र सकिसक्नुपर्ने हुन्छ । योजना सम्झौता गर्न एक साता लाग्ने भएकाले काम गर्न एक महिनाको समयमात्र रहने गर्छ । तर हरेक आवको अन्त्यतिर निकासा हुने रकम अघिल्ला वर्ष झैँ यसपटक पनि विकासभन्दा पार्टीका कार्यकर्ता रिझाउन नै खर्च हुने एक कर्मचारीले बताए ।

महोत्तरीमा सभासद्का लागि एक करोड ५० लाख रुपैयाँ जिविसमा आउने क्रममा छ । समानुपातिकतर्फका सभासद्हरु निर्जला राउत, धर्मेन्द्रकुमार साह तेली, निशाकुमारी साह, रञ्जना श्रेष्ठ, लालेन्द्रकुमार मण्डल,  विजयकुमार सिंह, शिवजी यादव, सुशीलकुमार श्रेष्ठ, सङ्गीता मण्डल धानुकसहित नौजनाको ९० लाख रुपैयाँ आइसकेको र प्रत्यक्षतर्फको गिरिराजमणि पोखरेल, किरण यादव, रामदयाल मण्डल, चन्देश्वर झा, दीपनारायण साह र सीताराम भण्डारी गरी ६ जनाको ६० लाख रुपैयाँ निकासा हुने क्रममा रहेको जिविसले जनाएको छ ।

रकम सातवटाभन्दा बढी योजनालाई दिन र ५० हजारभन्दा तल राख्न नपाइने व्यवस्था छ । हरेक सभासद्को एक वर्षको बजेटमध्ये योजनामा नौ लाख ३५ हजार खर्च हुन्छ भने ५० हजार प्रशासनिक खर्च र १५ हजार सम्बन्धित जिविसले राख्ने गर्छन् ।

महोत्तरीका अधिकांश सभासद्ले भौतिक निर्माणबाहेक सामान खरिदमा रकम खर्चिने गर्छन् । आर्थिक वर्ष सकिन लाग्दा मात्र अख्तियारी आउने, हतारमा योजना ल्याइने र कागजमा मात्र सकिने परम्पराले यसपटक पनि निरन्तरता पाउने देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us