
काठमाण्डु, २४ जेठ– वीर गणेशमान सिंह गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
बिराटनगरमा शनिबार भएको फाइनल खेलमा अर्को विभागीय टोली पुलिसलाई ३–१ ले हराउँदै आर्मीले उपाधि चुमेको हो ।
उपधिसँगै आर्मीले नगद ५ लाख हात पारेको छ । उपविजेतामा चित्त बुझाउन बाध्य भएको पुलिसले २ लाख ५० हजार पाएको छ । विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा अग्रता लिएको पुलिसले अन्तिमसम्म टिकेर खेल्न सकेन ।
पहिलो आफको २० औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै जुमानु राईले पुलिसलाई अग्रता दिलाए । खेलको ३४ औं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले गोल गर्दै खेललाई एक/एकको बराबरीमा ल्याए । खेलको ९० औं मिनेटमा आर्मीका भरत खवासले एक गोल गर्दै आर्मीलाई जिततर्फ उन्मुख गराए । खवास लगत्तै टंक बस्नेतले गोल गरेपछि आर्मीले ३–१ को जित निकाल्यो ।