महोत्तरी सदरमुकाम बन्द

काठमाण्डु टुडे २०७१ जेठ २१ गते ७:२१ मा प्रकाशित

महोत्तरी, २१ जेठ – आज बिहानैदेखि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरनगर बन्दका कारण सुनसान बनेको छ ।

प्रहरीले व्यापारीमाथि ज्यादती गरेको आरोप लगाउँदै जलेश्वर उद्योग वाणिज्य सङ्घले आमहड्ताल आह्वान गरेको हो ।

सङ्घको आमहड्तालले जलेश्वरनगरभित्रका सबै शैक्षिक संस्था,व्यापारिक प्रतिष्ठान,पसल र यातायात पूर्णरुपले बन्द भएका छन् ।

बजार र सडकमा सर्वसाधारणको चहलपहल अत्यन्तै न्यून देखिए पनि उद्यमी व्यवसायी भने सदरमुकामका चोकचोकमा प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन् ।

यातायात र बजार बन्द हुँदा सर्वसाधारण यात्री र उपभोक्ता भने मारमा परेका छन् ।

प्रहरीले नेपाल भारत नाकाबाट आयात र निर्यात गरिने व्यापारिक प्रयोजनका वस्तु अनावश्यक रुपले नियन्त्रणमा लिई व्यापारीलाई दुःख दिने गरेको, मिथिला क्षेत्रमा विवाह र अन्य धार्मिक समारोहमा बजाइने साउण्ड सिस्टम नियन्त्रणमा लिएर धार्मिक आस्थाामा ठेस पु¥याएको र उद्यमी व्यापारीका समस्याबारे अवगत गराउँदा पनि असहयोग गरेकाले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको सङ्घका अध्यक्ष कृपाशङ्खर शाहको भनाइ रहेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने जिल्ला प्रशासन कार्यालय र विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको आदेश अनुसार ठूलो स्वरमा बजाइएका डिजेबाजाहरु नियन्त्रणमा लिएको स्वीकार गर्दै मन्त्रालयको निर्देशन अनुसार नै कारबाही गर्ने बताएको छ साथै उद्यमी,व्यापारीका अन्य समस्या आपसी छलफलबाट कानुनको परिधिमा रहेर समाधान गर्न आफू तत्पर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us