शैक्षिकसत्र सुरु भएको डेढ महिनामा विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

काठमाण्डु टुडे २०७१ जेठ २१ गते ७:०६ मा प्रकाशित

जाजरकोट, २१ जेठ – शैक्षिकसत्र सुरु भएको डेढ महिना पुगी सकेपनि जाजरकोटका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्तक नपुग्दा पठनपाठनमा समेत समस्या परेको छ ।

निम्नमाध्यामिक र माध्यामिक तहका सबैजसो कक्षामा सबै विषयका पुस्तकको अभाव भए पनि सबैभन्दा बढी कक्षा ७ मा पुस्तकको समस्या देखिएको छ । यसै शैक्षिकसत्रमा कक्षा ७ को पाठ्यक्रम परिवर्तन भई नयाँ पाठ्यपुस्तक तयार पारिएकाले पनि समस्या परेको हो ।

अरु कक्षामा पुराना किताबबाट भए पनि काम चलेको छ भने कक्षा ७ मा नयाँ कोर्स भएकाले के पढाउने भन्ने समस्या परेको त्रिभुवन उच्च माविका शिक्षक गणेश अधिकारीले जानकारी दिए ।

उनले समयमा पाठ्यपुस्तक नआउँदा पठनपाठनमा समस्या परेको बताउनुभयो । किताब नहुँदा विद्यार्थी पनि के पढ्ने भन्ने अन्योलमा छन् । कक्षा ७ मा अध्ययनरत सत्या बोहरा पटकपटक पुस्तक पसल धाउँदा पनि पुस्तक नआएका कारण पाउन नसकेको बताए ।

उनीमात्र होइन कक्षा ७ का जिल्लाभरका करिब तीन हजार विद्यार्थीको हातमा अहिलेसम्म किताब पर्न नसकेको स्थानीय अभिभावकको भनाइ छ । पुस्तक छपाइको जिम्मा लिएको जनक शिक्षा सामग्री केन्द्रले समयमा नछापेका कारण आउन नसकेको जाजरकोट खलङ्गास्थित राजेन्द्र एन्ड देवेन्द्र पुस्तक सदनका प्रोपाइटर देवेन्द्रप्रसाद शर्माले बताए ।

उनले ६ देखि १० कक्षासम्म अझै छ हजार विद्यार्थीले पुस्तक नपाएको बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us