
काठमाण्डु, २० जेठ– गृहमन्त्री बामदेव गौतमप्रति आपत्तिजनक शब्द प्रयोग गर्दै फेसबुकमा टिप्पणी गरेको अभियोगमा पक्राउ परेका गृहमन्त्रालयका कर्मचारी राजु शाह रिहा भएका छन् ।
इलाका प्रशासन कार्यालय सिरहामा कार्यरत शाखा अधिकृत शाहले फेसबुकमा गृहमन्त्री वामदेव गौतमले डोरी नाघेर सडक पार गरेको तस्वीरमा टिप्पणी गर्दै ‘उनको पछाडिपट्टीबाट गोली हान्नुपर्ने’ आशय व्यक्त गरेका थिए ।
त्यसको लगतै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोले वीरगन्जबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं ल्याएको थियो ।
म्याद थपका लागि मंगलवार जिल्ला प्रशासनमा लैजानु अघि नै सरकारी वकिलको कार्यालयले मुद्धा नै दर्ता नगरी रिहा गरेको शाहका वकिल दिपेन्द्र झाले जानकारी दिएका छन् ।
उनका अनुसार शाहले आफूले गल्ति गरेको भन्दै माफी पत्रमा हस्ताक्षर गरी शाहका बाबु गेनालाल साहले कागज गरेपछि शाह रिहा भएका हुन् ।