छुवाछूतसम्बन्धी मुद्दा दर्ता गर्न प्रहरीको आनाकानी

काठमाण्डु टुडे २०७१ जेठ २० गते ८:०६ मा प्रकाशित

काठमाण्डु, २० जेठ – प्रहरी प्रशासनले छुवाछूतसम्बन्धी घटनाका मुद्दा दर्ता गर्न आनाकानी गर्ने गरेको भन्दै दलित अगुवाले गुनासो गरेका छन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन अभियान (१२ दिने) अन्तर्गत समता फाउन्डेसन, जागरण मिडिया सेन्टर, दलित गैरसरकारी संस्था महासङ्घ र दलित नागरिक समाजलगायत सङ्घसंस्थाले मङगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा दलित आन्दोलनका अगुवाले प्रहरी प्रशासनका जिम्मेवार व्यक्तिले नै छुवाछूत ऐनको सवालमा जानकारी नभएको भन्दै मुद्धा दर्ता गर्न नमानेको जानकारी दिए ।

मुद्दा दर्तामा बस्ने गैरदलितले दलितले ल्याएको छुवाछूतसम्बन्धी घटनाको मुद्दा दर्ता गर्न अटेर गरेको र यदि मुद्दा दर्ता गरिहालेको खण्डमा गैरदलितको पक्षमा फैसला गर्ने गरेको भन्दै उनीहरुले जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ कार्यान्वयनका निमित्ति सम्बन्धित निकायमा आफ्नो समुदायको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए ।

दलित आन्दोलनका अगुवा पदम सुन्दासले प्रहरी प्रशासनका जिम्मेवार व्यक्तिले नै ऐनका बारेमा अनभिज्ञता प्रकट गरेकाले पहिलो कुरा ऐनका बारेमा राज्यले प्रसारप्रसार गर्नुपर्ने र ऐन कार्यान्वयनका निकायमा दलित समुदायको प्रतिनिधित्व हुने नीतिगत व्यवस्था हुनुपर्छ भने ।

दलित गैरसरकारी संस्था महासङ्घका अध्यक्ष गजाधर सुनारले राज्यले पटक पटक छुवाछूत मुक्त राष्ट्र घोषणा गरे पनि नेताहरुबाटै सबैभन्दा बढी विभेद तथा छुवाछूत हुने गरेको बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us