चुनाव प्रचारप्रसारसँगै मतदाता शिक्षा पनि तीव्र

काठमाण्डु टुडे २०७१ जेठ २० गते ३:०८ मा प्रकाशित

चितवन, २० जेठ – असार ८ गते हुने संविधानसभा सदस्य उपनिर्वाचनमा विद्युतीय मतदान हुने भएपछि दलहरुले चुनाव प्रचारप्रसारसँगै मतदाता शिक्षालाई पनि तीव्र पारेका छन् ।

यसअघि भएका चुनावभन्दा फरक शैलीबाट मतदान हुने भएपछि जिल्ला निर्वाचन कार्यालय चितवनसँगै दलहरुले पनि मतदाता शिक्षालाई बढी जोड दिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय चितवनले क्षेत्र नं ४ का ३१ मतदान केन्द्र, सातवटा गाउँ विकास समिति तथा भरतपुर नगरपालिकाका पाँचवटा वडामा कुल ४३ जनाको टोली खटाएर मतदाताहरुलाई विद्युतीय मतदानका बारेमा जानकारी गराएको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले बताए ।

बिहान र बेलुकाको समयमा टोलटोलमा पुगेर मतदाताहरुलाई भेला गराई मतदान गर्ने तरिकाबारे जानकारी गराइएका उनले बताए । त्यस्तै आफ्नो चुनाव प्रचारप्रसार अभियानलाई तीव्र पारेका दलहरुले पनि मतदाता शिक्षालाई बढी प्राथमिकता दिएका छन् ।

नेपाली काँग्रेस चितवनका जिल्ला सभापति टेकप्रसाद गुरुङले घरदैलो अभियान र मतदाता शिक्षा कार्यक्रमलाई एकसाथ अघि बढाएको बताए । त्यस्तै नेकपा एमालेले पनि ग्रामीण क्षेत्रका मतदाताहरुलाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रम गरिरहेको एमालेका जिल्ला अध्यक्ष जेएन थपलियाले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालयको मतदाता शिक्षा कार्यक्रम ग्रामीण क्षेत्रमा प्रभावकारी नभएकाले उहाँले त्यस क्षेत्रमा बढी जोड दिइएको उल्लेख गर्नुभयो । एकीकृत नेकपा माओवादीले पनि अभियानलाई तीव्र पारेको छ ।

एमाओवादीले चुनाव प्रचारप्रसारका क्रममा विद्युतीय मेसिनको चित्र बनाएर मतदाताहरुलाई मतदान गर्ने तरिका सिकाएको जिल्ला नेता घनश्याम दाहाल अविनाशले बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us