संसद् अवरोध खुलाइदिन प्रधानमन्त्रीको प्रचण्डलाई आग्रह

काठमाण्डु टुडे २०७१ जेठ २० गते ३:२० मा प्रकाशित

काठमाण्डु, २० जेठ– प्रधानमन्त्री सुशील कोइरालालले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई व्यवस्थापिका–संसदको अवरोध हटाइदिन आग्रह गरेका छन् ।
prachanda-sushil
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान भएको छलफलमा कोइरालाले संसद् अवरोध खुलाएर सहयोग गर्न आग्रह गरेका हुन् ।

जवाफमा प्रचण्डले प्रमुख दलबीच भएको चार बुँदे सहमति कार्यान्वयनका साथै रकमान्तर गरी राज्य कोषको चार अर्ब रुपैयाँ हिनामिना भएको विषयमा संसदीय छानबिन समिति गठन गरिए मात्र संसद अवरोध हट्ने बताएको उनका सहयोगी शिव खकुरेलले काठमाण्डु टुडेलाई जानकारी दिए ।

कोइरालाले भने ती मागबारे सत्ता साझेदार एमालेसमेतको सहभागितामा तीन दलका शीर्ष नेता बसेर छलफल गर्ने प्रस्ताव राखेका छन् । खकुरेलले समस्या समाधानका विषयमा संविधानसभा बैठकअघि आजै प्रमुख तीन दल काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठक बस्ने बताए ।
एमाओवादीसहितका प्रतिपक्षीले आर्थिक वर्षको अन्त्यमा सरकारले अर्बौं रकमान्तर गरेर आर्थिक अनियमितता गरेको भन्दै सदनलाई सत्यतत्य जानकारी नदिएसम्म वर्षे अधिवेशन चल्न नदिने बताउँदै आएका छन् ।
प्रतिपक्षीले रकमान्तर गरिएको विषयमा संसदीय छानविन समिति गठन गर्न माग गरेका छन् । यसअघि उनीहरुले शुक्रबार र आइतबारको संसद–बैठक नाराबाजी गरेर चल्न दिएनन् ।
यस्तै एमाओवादीले प्रमुख तीन दलबीच गत पुस ९ गते भएको चार बुँदे सहमतिअनुसार निर्वाचन धाँधली छानविन समिति र उच्चस्तरीय राजनीतिक समिति गठन हुनुपर्ने माग पनि अघि सारेको छ । व्यवस्थापिका–संसद् बैठक आज अपराह्न तीन बजेका लागि बोलाइएको छ । प्रतिपक्षीको अवरोधका कारण प्रि–बजेटमाथिको छलफल प्रभावित हुँदै आएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले यसअघि हिजो अर्थमन्त्री रामशरण महतलाई बालुवाटार बोलाएर के कसरी रकमान्तर भएको हो भन्ने विषयमा जानकारी मागेका थिए ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us