बैंककबाट फर्केपछि ओलीले भने, ‘जनताले ठूलो ऋण लगाएका छन्, राम्रा कामबाट ऋण तिर्छु’

काठमाण्डु टुडे २०७१ जेठ २० गते ८:४२ मा प्रकाशित

काठमाण्डु, २० जेठ– एमाले संसदीय नेता केपी शर्मा ओली झण्डै एक महिना थाइल्याण्डको बैंककमा उपचार गराएर मंगलबार स्वदेश फर्किएका छन् ।
kp oli

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता ओलीले नेपाली जनताले आफ्नो स्वास्थ्यप्रति उदारता र सदभाव देखाएको भन्दै त्यसका लागि धन्यवाद दिए ।

‘नेपाली जनताले मेरो स्वास्थ्यप्रति देखाएको उदारता, सहयोग र सदभावलाई मैले ऋणका रुपमा बुझेको छु’, ओलीले भने, ‘म काम गर्न सक्ने भएर आएको छु, आगामी दिनमा राम्रा कामहरुबाट त्यस ऋणलाई चुक्ता गर्नेछु ।’

नेपाली जनताले तानाशाही व्यवस्थाका कारण विगतमा लामो समय दु:ख पाएको भन्दै अब दु:ख पाउनुपर्ने कुनै कारण नरहेको उनको भनाइ थियो ।

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुनुपर्छ

नेता ओलीले पार्टीको आसन्न नवौं महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी गरे ।  पार्टीलाई थप विकास गर्न र गतिशील बनाउन नेतृत्व हस्तान्तरण गर्नुपर्ने ओलीको भनाइ थियो । एमालेले आफूलाई क्रमश: विकास र विस्तार गर्दै लगेको भन्दै उनले नवौं महाधिवेशनले विकासमा केही आयामहरु थप्ने उल्लेख गरे ।

उनले पार्टीभित्र अहिले देखिएका विवाद महाधिवेशनसम्म टुंगिने दाबी गरे । उनले सहमतिका आधारमा नेतृत्व चयन हुनेमा आफू ढुक्क रहेको बताए ।

‘महाधिवेशनभन्दा अगाडि बहस र विवाद हुनु स्वाभाविकै हो, तर महाधिवेशनसम्म पुग्दा सबै विवादहरु टुंगिनेछन र सहमतिको वातावरण बन्नेछ’, ओलीले भने, ‘मलाई विश्वास छ, नवौं महाधिवेशनले सहमतिका साथ एउटा नयाँ आयाम थपेर अगाडि बढ्नेछ ।

त्यो सहमति, उपयुक्तताका आधारमा, न्यायपूर्ण आधारमा, औचित्यका आधारमा नेतृत्व हस्नान्तरण गर्ने उद्देश्यलाई ध्यानमा राखेर हुनेछ ।’ ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बेलामा पूरानैतर्फ फर्काउने कुरा गर्नु जायज नभएको तर्क गरे ।

प्रकृति र विकासको निमयअनुसार तर्कसम्मत, विवेकसम्मत, न्यायसम्मत र पद्धतिसम्म तवरले नेतृत्व हस्तान्तरण हुनुपर्नेमा उनको जोड थियो ।

एक वर्षमा संविधान
ओलीले एक वर्षभित्र मुलुकलाई संविधान दिने प्रतिबद्धताका आधारमा दलहरु अघि बढ्नुपर्ने उल्लेख गरे । राष्ट्रिय राजनीतिमा देखिएका विवाद सहमति र संवादका माध्यमबाट तत्काल समाधान हुने र संविधान निर्माणको दिशामा सबैको ध्यान केन्द्रित हुने उनको विश्वास छ ।

उनले दलहरुबीच देखिएका विवाद र राष्ट्रका अगाडि देखिएका समस्या समाधानका लागि आफूले जिम्मेवारीपूर्ण ढंगले काम गर्ने बताए । उनले मुलुकका अगाडि देखिएका समस्या समाधानका लागि सबैले राष्ट्र र जनतालाई सर्वोपरि ठानेर अघि बढ्नुपर्ने औंल्याए ।

केबल ‘राष्ट्र, जनता र लोकतान्त्रको हितलाई सर्वोपरि राखेर हामीले छिट्टै संविधान निर्माण गर्नुपर्नेछ’, ओलीले भने, ‘बाचा गरेअनुसार एक वर्षभित्र संविधानसभाबाट जनताले स्वीकार गर्ने लोकतान्त्रिक संविधान बनाउनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us