खेलकुद अवार्डमा क्रिकेटको बर्चश्व, पारस खड्का वर्षको उत्कृष्ट खेलाडी घोषित

काठमाण्डु टुडे २०७१ जेठ १९ गते १२:३० मा प्रकाशित

Paras Khadkaकाठमाण्डू, १९ जेठ – नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का वर्षको उत्कृष्ट पुरुष खेलाडीको उपाधिबाट सम्मानित भएका छन् ।

नेपाल खेलकु्द पत्रकार मञ्चले गरेको पल्सर स्पोर्टस अवार्ड वितरण कार्यक्रममा खड्का वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् । उनले बजाज पल्सर मोटरसाइकल पाएका छन् । खड्काले क्रिकेटका बसन्त रेग्मी र सुवास खकुरेल, गल्फका शिवराम श्रेष्ठ र एथ्लेटिक्सका यामसाजन सुनारलार्इ पछि पार्दै अवार्ड जिते ।

यस्तै भलिबल खेलाडी सरस्वती चौधरी वर्षको लोकप्रिय खेलाडी घोषित भइन् । फुटबलका विमल घर्ती, क्रिकेटका पारस खड्का, एथलेटिक्सका यामसाजन सुनुवार र पौडीकी सोफिया शाहलार्इ पछि उनले अवार्ड जितिन् । चौधरीले पनि मोटरसाइकल पाइन् ।

जुडोकी सुनिता बोहोरा ‘उत्कृष्ट महिला खेलाडी’ घोषित भइन् । उनले महिला खेलाडीको मनोनयनमा परेका दिलमाया कार्की (एथ्लेटिक्स), सोफिया शाह (पौडी), सीता रानामगर (क्रिकेट) र तारादेवी पुन (भारोत्तोलन)लार्इ पछि पार्दै ‘उत्कृष्ट महिला खेलाडी’ को अवार्ड हात परेकी हुन् । बोहोराले पनि एक थान मोटरसाइकल प्राप्त गरिन् ।

मञ्चले लाइफटाइम एचिभमेन्ट अवार्डबाट धावक बैकुण्ठ मानन्धरलाई सम्मान गरेको छ । यस्तै नेपाली फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगरलाई युवा वर्ष खेलाडीबाट सम्मान गरेको छ ।

वर्षको उत्कृष्ट प्रशिक्षकको उपाधि क्रिकेटका पुबुदु दाशानायकेले हात पारे भने स्पेशल अवार्डबाट क्रिकेटका शरद भेषावकर सम्मानित भए । यसैगरी ‘पारा एथलेटिक अफ दी इयर’ तेक्वान्दो खेलाडी यादव कुँवर घोषित भए । टिम अफ दि एयरको उपाधि पनि राष्ट्रिय क्रिकेट टोलीले हात पार्‍यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us