कर्मचारी र नेताको दोहोरो भिडन्त

काठमाण्डु टुडे २०७१ जेठ १४ गते ६:५६ मा प्रकाशित

काठमाण्डु, जेठ १४ – गणतन्त्र दिवसको अवसरमा राजनीतिक दलका नेता र कर्मचारीहरुबिच बुधबार गोरखामा मैत्रीपूर्ण खेल भएको छ ।

उद्घाटन समारोहमा मात्र खेलकुद मैदानमा पुग्ने नेताहरु बुधबार विहान रातो जर्सी लगाएर मैदान ओर्लिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र कर्मचारीहरु पनि  जर्सीमा मैदान छिरे । अनि सुरु भयो दल र कर्मचारीबिच मैत्रीपूर्ण भलिबल खेल ।

यसअघि यसरी कहिल्यै मैदानमा नदेखिएका नेता र हाकिमलाई खेलाडीको पोशाकमा देख्दा अचम्म मानेर हेर्ने र टिप्पणी गर्नेहरु पनि थुप्रै थिए । खेल शुरु भयो, नेताहरुले कर्मचारीलाई आच्छु आच्छु पारे । लगातार सर्भिसिङ गरिरहेका कर्मचारी समूहका टोली नेता प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले केही मिनेटमै मैदान छाड्ने अनुमान विपरित अन्तिमसम्म जमेर खेले । कर्नेल प्रेमबहादुर थापाको खेलशैली धेरैले मन पराए ।

राजनीतिक दलतर्फ भने एमाओवादीका रमेश पोखरेल, नेपाली कांग्रेसका राजनराज पन्त, अखिल क्रान्तिकारीका कुमार तिवारी लगायत युवावयकाहरुले हाकिमहरुलाई टक्कर दिँदै थिए ।

पहिलो सेट जितेपछि निकै हौसिएका नेता समूह दोस्रो सेटबाट भने धर्मराउन थाल्यो । अन्तत दोस्रो, तेस्रो र चौंथो सेट लगातार जितेपछि कर्मचारी समूह विजेता बन्यो ।

गणतन्त्र दिवसको सन्दर्भ पारेर जिल्ला समारोह समितिले मैत्रीपूर्ण भलिवल खेलको आयोजना गरेको हो । ‘गणतन्त्रलाई संस्थागत गर्न कर्मचारी र राजनीतिक दलविच गहिरो सहकार्य जरुरी छ’ समारोह समितिका संयोजक स्थानीय विकास अधिकारी महेश बरालले बताए ।

राजनीतिक दलहरुको समूहले पनि जिल्लाको विकासमा सहकार्य गरेर अघि बढ्नका लागि मैत्रीपूर्ण खेलले सघाउने बतायो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us