प्रचण्ड र वैद्यले एकै मञ्चबाट भने, ‘हामी फुट्दा प्रतिक्रियावादी खुसी भए, अब मिल्छौं

काठमाण्डु टुडे २०७१ जेठ १२ गते ६:२३ मा प्रकाशित

काठमाण्डु, १२ जेठ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा–माओवादी prachanda-baidhyaअध्यक्ष मोहन वैद्यले दुई पार्टीबीच एकता जरुरी रहेको बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघले तत्कालीन राज्य पक्षद्वारा हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’ को १२ औं स्मति दिवसका अवसरमा सोमबार राजधानीमा गरेको कार्यक्रममा प्रचण्ड र वैद्यले दुई पार्टी एक हुनुको विकल्प नरहेको बताए ।

प्रचण्डले पार्टी एकताका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको उल्लेख गरे । उनले विश्वभर कम्युनिष्ट आन्दोलन रक्षात्मक रहेको अवस्थामा नेपालका कम्युनिष्टहरु मिल्न नसकै सोही हविगत हुने बताए । ‘विश्वभर कम्युनिष्ट आन्दोलन रक्षात्मक भएको अवस्थामा नेपालीमा हामी कम्युनिष्टहरु मिल्न सकैनौं भने धारासायी हुने अवस्था छ’, प्रचण्डले भने, ‘क्रान्तिकारी निष्ठा र त्याग बिना एकता सम्भव छैन, त्यसैले एकताका लागि जस्तोसुकै त्याग गर्न म तयार छु ।’

दुई पार्टी फुटेका कारण प्रतिक्रियावादी शक्तिलाई फाइदा पुगेकाले दुई पार्टी मिल्नुको विकल्प नरहेको दोहोर्‍याए । वैद्यले पनि नयाँ विचार र नयाँ कार्यदिशाका आधारमा दुई पार्टीबीचको एकता वस्तुगत आवश्यकता भएको उल्लेख गरे ।

उनले पार्टी विभाजनबाट निराश भएका जनता, कार्यकर्ता र शुभचिन्तकले एकता चाहेकाले त्यसलाई आफूहरुले सार्थक तुल्याउनुपर्ने बताए । ‘जनता, कार्यकर्ता र हाम्रा शुभचिन्तकहरुले एकता चाहेका छन्’, वैद्यले भने, ‘साँचो अर्थमा भन्ने हो भने हामी माओवादीहरुबीच एकता जरुरी छ, त्यो भावनात्मक रुपमा भन्दा विचारमा आधारित हुनुपर्छ ।’

उनले कुराले नभई कामले एकता हुनुपर्नेमा जोड दिए । आफूहरु विवाजित हुँदा प्रतिक्रियावादीहरु खुसी भएको र सहिदका सपना र जनताले दुखेको मुक्तिको आदर्शमा धक्का पुगेको उनको भनाइ थियो ।
कार्यक्रममा एकीकृत माओवादी नेता बाबुराम भट्टराईले विचार र स्पष्ट कार्यदिशाका आधारमा मात्र एकता हुनुपर्ने बताए ।

उनले पार्टी विभाजन भएको दुई वर्षसम्म पनि वैद्य र आफूबीच व्यक्तिगत कटुता नरहेको प्रष्ट्याए । उनले चोचोमोचो मिलाएर गरिने एकताले कसैलाई फाइदा नपुग्ने बताए । ‘विचार र कार्यदिशाका आधारमा एकता जरुरी छ’, भट्टराईले भने, ‘चोचोमोचो मिलाएर फुटेको हाँडी जोडियो भने त्यसले मकै भुट्न सक्दैन ।’ उनले अध्यक्ष प्रचण्ड र आफूबीच जारी वैचारिक बहसलाई ठूला मिडिलाले व्यक्तिगत झगडाका रुपमा व्याख्या गरेको भन्दै त्यसो नगर्न आग्रह गरे ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us