
बेइजिङ, ११ जेठ – दक्षिण चीनमा भारी वर्षापछि आएको बाढीको कारण कम्तीमा १५ व्यक्तिको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।
उक्त प्रकोपका कारण पाँच व्यक्ति हराइरहेका स्थानीय अधिकारीहरूले आइतबार जनाएका छन् ।
गत बुधबारदेखि सुरु भएको यस बाढीका कारण गुआङ्गडोङ्ग प्रान्तको किङ्गयुआन सहरमा आठ लाख व्यक्ति प्रभावित भएका सिन्ह्वा समाचार समितिले बताएको छ ।
सो प्रकोपछि ६० हजार व्यक्तिलाई बाढी प्रभावित इलाकाबाट अन्य सुरक्षित स्थानमा सारिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी शनिबार अपरान्ह्सम्म सो बाढीका कारण तीन हजार ३ हजार घर भत्किएको बताइएको छ । करिब पाँच दिनसम्म जारी रहेको सो बाढीबाट २९ करोड ३० लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको छ ।
खानेपानी आपूर्ति गरिने पोखरीमा बाढीको पानी पस्दा २० हजार भन्दा बढी व्यक्ति खाने पानीको सुविधाबाट वञ्चित भएका छन् । सो भारी वर्षाका कारण राष्ट्रिय र प्रान्तीय गरी १६ वटा राजमार्ग बन्द भएको जनाइएको छ ।