
यूरोपको प्रतिष्ठित फुटवल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ ।
शनिबार राती भएको खेलमा अर्को स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई ४–१ गोलले हराउँदै रियलले उपाधि जितेको हो । अन्तिम एक मिनेट खेल जोगाउन नसक्दा एटलेटिकोले उपाधि गुमायो ।
रियलको यो दशौं उपाधि हो । दशौं पटक च्याम्पियन्स लिग उपाधि जित्ने रियल पहिलो क्लब हो । ३६ औं मिनेटमा डिएगो गोडिनको गोलमा अग्रता लिएपनि एटलेटिकोले जोगाउन सकेन र ९० औं मिनेटमा गोल खायो । रियलका लागि सर्जियो रामोसले बराबरी गोल गरे ।
त्यसपछि थपिएको ३० मिनेटमा रियल पुरै हावी भयो र तीन गोल गर्दै उपाधि जित्यो । उसका लागि क्रिस्टियानो रोनाल्डो, गाराथ बेल र मार्सेलोले गोल गरे । एञ्जेल डि मारियाले गोल गर्ने अवसर मिलाउन महत्वपूर्ण भूमिका खेले ।