
काठमाण्डु, ६ जेठ– सगरमाथा लिजेण्ट्स एनपिएल क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार पञ्चकन्या तेजलाई २ विकेटले हराउँदै सगरमाथाले अन्तिम ४ मा स्थान बनाएको हो ।
धनगढीमा ८५ रनको सामान्य लक्ष्य पाएपनि जितका लागि सगरमाथाले निक्कै संघर्ष गर्नुपर्यो । सगरमाथाले ८ विकेट गुमाएर लक्ष्य भेटाएको हो ।
यसअघि सगरमाथाका राहुल विकले ३ तथा चन्द्र साउद, मेहबुब आलम र निश्चल पाण्डेले दुइदुई विकेट लिएपछि पहिले ब्याटिङ्ग गरेको पञ्चकन्या सामान्य योगफलमा समेटिएको थियो ।
जगदम्बा जाइण्ट्स र पञ्चकन्या यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेका छन् । महेन्द्रनगरमा भएको खेलमा मंगलबार विशाल ग्रुप वारियर्सले कान्तिपुर गोर्खाजलाई ८ विकेटले हरायो । सुसान भारीले ह्याट्रिक सहित ६ विकेट लिएपछि विशालले कान्तिपुर गोर्खाज्लाई ९५ रनमा सीमित गरेको थियो ।
९६ रनको सामान्य लक्ष्य विशालले १९ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।
विशालका राजु रिजालले ३६ र दिपेश खत्रीले २७ रन बनाए । कान्तिपुरलाई धराशायी पार्न सुशान भारीले ८ ओभर तीन बलमा एक मेडन राख्दै ६ विकेट लिए । कान्तिपुरका लागि आकाश बिष्टले २४ रन बनाएका थिए ।