चीनियाँ नागरिकलाई स्वदेश फर्काइने

काठमाण्डु टुडे २०७१ जेठ ४ गते १०:५८ मा प्रकाशित

काठमाण्डु, ४ जेठ – भियतनाममा चीन विरोधी हिंसात्मक घटना बढेपछि त्यहाँ रहेका सबै चीनियाँ नागरिकलाई स्वदेश फर्काइने भएको छ ।

दंगाग्रस्त भियतनामबाट आफ्ना नागरिक स्वदेश फिर्ता ल्याउन चीनले ५ वटा जहाज पठाउने घोषणा गरेको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ । चीनले यसअघि नै झण्डै ३ हजार नागरिकलाई फिर्ता लगिसकेको छ ।

विवादास्पद दक्षिणी चीनियाँ समुद्रमा चीनले तेल उत्खनन गरेको विरोधमा भियतनामा सुरु भएको चीन विरोधी दंगामा २ जना चिनियाँ नागरिकको ज्यान गैसकेको छ भने गम्भीर घाइते भएका १६ जनालाई विशेष विमानबाट फर्काइएको छ ।

भियतनाम सरकारले हिजो हिंसात्मक घटनाले देशको स्थायित्वमा खलल पुग्न सक्ने भन्दै विरोध अन्त्यका लागि आव्हान गरेको थियो । तर केहि समूहले भने प्रदर्शन जारी राखेपछि प्रहरी र प्रदर्शनकारीबीच केहि स्थानमा आज झडप समेत भएका छन् ।

प्रदर्शनकारीले झण्डै १५ वटा विदेशी उद्योगमा आगजनी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us