
काठमाण्डु, १ जेठ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित संस्थापन पक्षका नेताहरुले असन्तुष्ट नेता बाबुराम भट्टराईसँग भेटी पार्टी केन्द्रीय समितिमा फर्कन आग्रह गरेका छन् ।
भट्टराई निवास सानेपा पुगेर प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा र गिरिराजमणि पोखरेलले केन्द्रीय समितिमा आउन आग्रह गरेका हुन् ।
‘पार्टीलाई एकताबद्ध गरेर लेजानुपर्ने बेलामा तपाईंहरु (भट्टराई पक्ष) बाहिर बसेर हुँदैन, केन्द्रीय समितिमा आउनुपर्छ भन्यौं’, छलफलमा सहभागी पोखरेलले काठमाण्डु टुडेसँग भने, ‘उहाँ सकात्मक हुनुहुन्छ, आउँदै आउँदिन भन्नुभएको छैन, आशा गरौं आउनुहुन्छ होला ।’
तर केन्द्रीय सहमतिमा आउन भट्टराईले फरक मतको सम्मान हुनुपर्ने, युद्धकालीन पार्टी संरचना, कार्यशैली र कार्यदिशा परिवर्तन हुनुपर्ने सर्त राखेको पोखरेलले बताए । भट्टराईका सर्तबारे छलफल गर्ने सहमति भएको जानकारी उनले दिए ।
पोखरलले पार्टीलाई एकताबद्ध ढंगले लैजान, केन्द्रीय समितिलाई पूर्णता दिन र कार्यक्रम बनाएर लैजान छिट्टै अर्को छलफल गर्ने बताए । भट्टराईको जवाफमा अध्यक्ष प्रचण्डले पार्टीमा फरक मतप्रति पार्टीभित्र कोही असहिष्णु नरहेको भन्दै फरक राख्ने विधि र प्रक्रिया ठोस गरेर जानुपर्ने बताएका थिए ।