
काठमाण्डू, ३१ वैशाख– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले पार्टी र मूल नेतृत्व रुपान्तरण नभए नयाँ आफूले नयाँ पार्टी गठन गर्ने बताएका छन् ।
बीबीसी नेपाली सेवाका लागि रवीन्द्र मिश्रसँग कुरा गर्दै उनले सकेसम्म एमाओवादीलाई रुपान्तरण गर्ने र नभए नयाँ शक्ति जन्मनबाट कसैले रोक्न नसक्ने बताए ।
‘एमाओवादी पार्टी १० औं हजारको बलिदानबाट बनेको हो । पार्टी निर्माणमा मसहित मेरो अभियानमा रहेका साथीहरुको महत्वपूर्ण योगदान छ’, भट्टराईले भने, ‘यही पार्टीलाई रुपान्तरण गरेर नयाँ शक्ति बनाउने भनेको हो, नभए नयाँ शक्तिको उदय हुन्छ, कसैले रोक्न सक्दैन ।’
नयाँ शक्तिको स्वरुप र नेतृत्वबारे भने अहिले नै भविष्यवाणी गर्न नसक्ने उनको भनाइ छ ।
भट्टराईले विचार, संगठन र कार्यदिशामा रुपान्तरण हुनुपर्ने आफूहरुको माग सम्बोधन नभए केन्द्रीय समितिमा नजाने दोहोर्याए । तर कुरा मिले केन्द्रीय समितिमा जाँदै नजाने नभनेको उनको प्रष्टोक्ति थियो ।
विराटनगर राष्ट्रिय सम्मेलनबाट आफूहरुले पार्टीको रुपान्तरण अभियानका लागि बहस थालेको भन्दै उनले बसहको प्रक्रिया विशेष महाधिवेशनमा गएर टुंगिने स्पष्ट गरे । ‘मैले चाहेको रुपान्तरणसहितको विचार, संगठन र कार्यदिशा हो’, भट्टराईले भने, ‘पार्टी रुपान्तरण र न्याय र सम्मानसहितको कार्यविभाजन हुन्छ भने पदमा फर्कन्न पनि भनेको छैन ।’
आफूहरुले सत्ता र शक्तिका अगाडि सत्य मर्ने भन्दै उनले सत्ता र शक्तिलाई सबैथोक ठान्ने प्रवृत्तिविरुद्ध अभियान थालिएको टिप्पणी गरे । उनले सत्ता र शक्तिलाई सबैथोक ठान्ने प्रवृत्तिविरुद्ध आफूले विगतमा मोहन वैद्य र नारायणकाजी श्रेष्ठसँग मिलेर धोवीघाट गठबन्धन गरेको दाबी गरे ।
अर्को एक फरक प्रसंगमा भट्टराईले विराटनगर राष्ट्रिय सम्मेलनमा आफू निर्वाचनकै पक्षमा रहे पनि संस्थापन पक्षकै कारण निर्वाचन नभएको दाबी गरे । प्रचण्ड पक्षभित्रकै लडाइंका कारण डराएकाले निर्वाचन नभएको उनको भनाइ थियो ।
।